Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १०७ पुग्यो

Wednesday, June 14, 2017 National Power

३१ जेठ – दक्षिणपूर्वी बंगालादेशमा तीव्र मनसुनी वर्षाका कारण विभिन्न भागमा बाढीपहिरो जाँदा मृत्यु हुनेहरूको संख्या १०७ पुगेको छ । बीबीसीका अनुसार मृत्यु हुनेमा पाँच जना सैनिकसमेत छन् । यसअघि ३५ जनाको मात्र मृत्यु भएको समाचार बाहिर आएको थियो । रंगमती जिल्ला प्रशासनका प्रवक्ताले तीव्र मनसुनी वर्षाले जिल्लाका विभिन्न ठाउँमा पहिरो गएको र रंगमती जिल्लामा मात्रै कम्तीमा ६० जनाको मृत्यु भएको बताएका छन् ।

खराब मौसमका कारण राहत कार्यसमेत प्रभावित भएको छ । यी क्षेत्रमा दूरसञ्चार सम्पर्क विच्छेद भएको छ भने बिजुली बन्द भएकाले स्थानीय जनतासँग सम्पर्क हुन सकेको छैन । दैवीप्रकोप प्रबन्धन विभागका प्रमुख रियाज अहमदले एएफपीसँग भनेका छन्, ‘‘हामी अझै पनि भूस्खलनबाट प्रभावित कतिपय ठाउँमा जान सकेका छैनौं । पानी बन्द भएपछि हानी नोक्सानीको वास्तविक चित्र स्पष्ट हुनेछ र राहत कार्य जोडतोडका साथ सुरु हुनेछ ।’’

रंगमती जिल्ला भारत बंगालादेशको सीमा नजिकै पर्ने पहाडी इलाका हो, जहाँ भूस्खलनका कारण थुप्रै घर माटोमुनि पुरिएका छन् । पहिरो जाने बेला थुप्रै मानिसहरू आफ्नो घरभित्र सुतिरहेको बताइन्छ । सेनाका प्रवक्ताले एएफपीलाई बताएअनुसार जुन जुन सैनिकको मृत्यु भयो, उनीहरू पहिले आएको पहिरो हटाएर सडक जाम खुलाउने काममा लागेका थिए ।

बंगालादेशमा सोमबार बिहानबाट भएको तीव्र वर्षाले रंगामती र बन्दरबन दुई जिल्ला निकै प्रभावित बनेका थिए । मृतकहरूको संख्या पनि यिनै दुई जिल्लामा बढी रहेको छ । भीषणरूपमा परेको मनसुनी वर्षाले रंगामतीमा १३.५ इन्चसम्म पानी जमेको र अझै पनि पानी पर्ने क्रम नरोकिएको प्राप्त समाचारमा जनाइएको छ ।
वर्षाका कारण राजधानी ढाका र व्यापारिक नगर चटगाउँसमेत प्रभावित भएका छन् ।