Monday 11th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय

Friday, December 19, 2025 National Power

काठमाडौँ – अमेरिकाले ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि डाइभर्सिटी भिसा (डिभी) लटरी कार्यक्रम स्थगित गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा डाइभर्सिटी इमिग्रेन्ट भिसा (डिभी) लटरी कार्यक्रम तत्कालका लागि स्थगित गरिएको छ।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टी नोएमले बिहीबार यो जानकारी दिँदै उक्त कार्यक्रममार्फत प्रवेश पाएका व्यक्तिबाट गम्भीर हिंसात्मक घटना भएको भन्दै कार्यक्रम रोकिएको बताइन्। नोएमका अनुसार राष्ट्रपति ट्रम्पको आदेशअनुसार अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआइएस) लाई डिभी-१ कार्यक्रम स्थगित गर्न निर्देशन दिइएको हो।

“यस विनाशकारी कार्यक्रमका कारण अब कुनै पनि अमेरिकी नागरिकलाई हानि नहोस् भन्ने उद्देश्यले कार्यक्रम रोकिएको हो,” उनले भनिन्।यो निर्णय हालै ब्राउन विश्वविद्यालयमा भएको सामूहिक गोलीकाण्डसँग जोडिएको छ। उक्त घटनामा दुई जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए।

घटनाका संदिग्ध ४८ वर्षीय पोर्चुगिज नागरिक रहेको र उनी करिब दुई दशकअघि ब्राउन विश्वविद्यालयका विद्यार्थी भएको खुलेको छ। पछि उनले यही डाइभर्सिटी भिसा कार्यक्रममार्फत ग्रीन कार्ड प्राप्त गरेका थिए।

अधिकारीहरूका अनुसार उक्त संदिग्ध बिहीबार न्यू ह्याम्पशायर राज्यको एक भण्डारण केन्द्रमा आत्म-घातक चोटका कारण मृत अवस्थामा फेला परेका छन्। घटनाको थप अनुसन्धान भइरहेको छ।

अनुसन्धानकर्ताहरूले उक्त व्यक्तिमाथि बोस्टनमा सोमबार गोली हानी हत्या गरिएका म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) प्राध्यापक नुनो एफ.जी. लोरेइरोको हत्यासँग पनि जोडेर अनुसन्धान गरिरहेका छन्। म्यासाचुसेट्सका अमेरिकी अधिवक्ता लिया बी. फोलीले यसबारे जानकारी दिएकी हुन्।

डाइभर्सिटी इमिग्रेन्ट भिसा कार्यक्रम अमेरिकी कंग्रेसले स्थापना गरेको हो, जसअन्तर्गत हरेक वर्ष ५० हजारभन्दा बढी आप्रवासी भिसा उपलब्ध गराइन्छ। यो कार्यक्रम अमेरिका आप्रवासनको दर कम भएका देशका नागरिकलाई लक्षित गरी सञ्चालन हुँदै आएको थियो।