काठमाडौं – आर्थमन्त्री रामेश्वर खनालले आफ्नो सचिवालयमा धेरै सदस्य नराख्ने भएका छन् । सोमबार मन्त्री खनालले पदभार ग्रहणपछि आफूलाई एकजना सवारी चालक र सचिवालयमा एकसहित दुईजना भए हुने बताएका हुन् ।
“आज म शपथ लिन जाँदा आफैँ गाडी चलाएर गएँ । अलिक असुहाउँदो हुँदोरहेछ,” उनले भने, “मलाई एउटा ड्राइभर र सचिवालयमा बुझ्ने र भेटघाट गर्न आउनेलाई व्यवस्थापन गर्ने एकजना कर्मचारी दिनुहोस् ।”
उनले आफू जेनजीको प्रतिनिधि भएर आएको र उनीहरूले चाहेको देश बनाउने जिम्मा सबैको भएको बताए । कर्मचारीहरूले आफूलाई व्यक्तिगत विषयमा नभुलाउन पनि भने । उनले कार्यालयको कामको विषयमा भने जुनसुकै बेला पनि आफू सहजकर्ता बन्ने बताए ।
“कर्मचारी साथीहरूले मेरो घर नचिनेकै राम्रो,” उनले भने । उनले अनावश्यक खर्च कटौती गर्नुपर्ने भए कटाउन पनि निर्देशन दिए ।