Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

“बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट ‘वातावरण संरक्षण पुरस्कार’ प्रदान

Friday, July 11, 2025 Devil Singh Rajput

काठमाडौं, असार २६ | वातावरणीय अभियानप्रति प्रतिबद्धता प्रस्तुत गर्दै नेपालकै पहिलो हरित विद्यालय बज्र एकेडेमीका विद्यार्थीहरूद्वारा सञ्चालित “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट प्रतिष्ठित ‘वातावरण संरक्षण पुरस्कार’ प्रदान गरिएको छ। क्लबलाई नगद रु. १०,००० (दश हजार रुपैयाँ) सहितको उक्त पुरस्कार काठमाडौंमा शुक्रबार आयोजित विशेष सम्मान समारोहका बीच प्रदान गरिएको हो।

उक्त पुरस्कार पुरस्कार छनोट समितिका सदस्यद्व्य लेखक तथा पत्रकार सरोज ओझा र पत्रकार सुकृत नेपालले बज्र एकेडेमीका कार्यकारी निर्देशक भुपेन्द्रविक्रम थापालाई  संयुक्त रूपमा हस्तान्तरण गरेका थिए। पुरस्कारको कोष अष्ट्रेलियाको मेलबर्नमा पुनः प्रयोगयोग्य वस्तुहरूको सङ्कलन तथा बिक्रीबाट संचित गरी त्यहाँका परोपकारी लेखक तथा वातावरणीय अभियन्ता शिव न्यौपानेले स्थापना गरेका हुन्। उक्त अभियानले विश्वव्यापी रूपमा वातावरणीय चेतना फैलाउने र नेपालमा जमीनी तहका वातावरणीय प्रयासहरूलाई सहयोग गर्ने उद्देश्य लिएको छ।

बज्र इको क्लबले वातावरण संरक्षण र चेतनाका क्षेत्रमा निरन्तर, प्रभावकारी र नविन प्रयासहरू गर्दै आएको मूल्याङ्कन गर्दै यस वर्षको पुरस्कार प्रदान गरिएको हो। क्लबले फोहोर व्यवस्थापन, वृक्षारोपण कार्यक्रम, पुनः प्रयोग तथा पुनःचक्रण अभियान, र सिर्जनात्मक कला तथा सांस्कृतिक कार्यक्रमहरूमार्फत वातावरणीय सन्देश प्रवाह गर्दै आएको छ। शिक्षालाई वातावरणसँग जोडेर प्रस्तुत गर्ने यस क्लबको प्रयासले देशभरका अन्य विद्यालयहरूलाई समेत प्रेरणा दिएको छ।

हालै क्लबले नेपाल सरकारद्वारा आयोजित पहिलो ‘सगरमाथा संवाद’मा रामायणमा आधारित वातावरणीय नाटक प्रस्तुत गर्दै वातावरणीय चेतना अभिव्यक्त गरेको थियो, जसले मिथकीय आख्यानलाई वातावरणीय सन्देशसँग जोडेर निकै प्रशंसा पाएको थियो।

पुरस्कार छनोट समितिका अनुसार यस सम्मानले विद्यार्थी नेतृत्वमा आधारित अभियानहरूले जलवायु परिवर्तन, प्रदूषण, र वातावरणीय संकटजस्ता विश्वव्यापी चुनौतीहरूको समाधानमा कस्तो महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने कुरा उजागर गर्ने उद्देश्य राखेको छ। हरित मान्यताप्राप्त नेपालकै पहिलो विद्यालय बज्र एकेडेमीले शिक्षण, संस्कार र समुदायसँगको सहकार्यमा वातावरणीय सतत अभ्यासलाई संस्थागत गर्दै आएको छ।

पुरस्कार प्राप्त गरेपछि बज्र एकेडेमीका कार्यकारी निर्देशक भुपेन्द्रविक्रम थापाले धन्यवाद व्यक्त गर्दै भने, “यो पुरस्कारले बज्र इको क्लबका सदस्यहरूको समर्पणलाई मात्र होइन, भावी पुस्तालाई वातावरणप्रति जिम्मेवार बनाउने महत्त्वलाई पनि उजागर गरेको छ, जुन स्थानीय र अन्तर्राष्ट्रिय सन्दर्भमा अत्यन्तै सान्दर्भिक छ।”