Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण रसुवामा

Tuesday, March 25, 2025 National Power

काठमाडौं- नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ । यस पटकको महोत्सव गोसाईकुण्ड गाउँ पालिका रसुवामा हुने भएको हो । सेलिब्रेटी नेपालको आयोजनामा नियमित रुपमा हुने गरेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्र समावेश गरिनेछ । महोत्सवमा डकुमेन्ट्री, शर्ट फिल्म,फिचर फिल्म र भाषाभाषीका फिल्महरूलाई समाबेश गरिने जनाइएको छ । ‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा फिल्म, डकुमेन्ट्री, फिचर फिल्म र भाषाभाषीका फिल्म सहभागी हुनेछन् । जुरी टिमले छनोट गरेका फिल्महरू स्क्रिनिङ गर्ने र उत्कृष्ट फिल्मलाई अवार्ड प्रदान गरिनेछ ।

विगत चार वर्षदेखि आयोजना हुँदै आइरहेको यो महोत्सवमा मौलिक ग्रामीण विषयवस्तु समेटिएका फिल्महरू समेटिएको छ । महोत्सवमा फिल्म स्क्रिनिङ्गसंगै ग्रामीण परिवेशलाई समेटेर कस्ता फिल्म बनाउने र कस्ता फिल्मले दर्शकको साथ पाउने छ भन्ने विषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठीहरू समेत गरिनेछ । पहिलो वर्ष गोरखाको लाप्राकमा आयोजना गरिएको यो महोत्सव दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसीमा र तेस्रो पटक रामेछापमा आयोजना गरिएको थियो ।

दर्शकलाई नेपाली मौलिक चलचित्रप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका चलचित्रहरूलाई विश्वमाझ पुर्‍याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको सापकोटाले बताउनुभयो । महोत्सवमा चलचित्र विकास बोर्डले सहकार्य गरेको छ ।

गोसाईकुण्ड गाउँ पालिका रसुवाले बार्षिक रुपमा आयोजना गर्दै आएको चौंथो पालिका कप भलिबल प्रतियोगिता पनि वैशाख २ गते देखि ६ गते सम्म हुनेछ । रसुवा जिल्लाको पर्यटन प्रवर्धनमा यस्ता कार्यक्रमले बिशेष महत्व राख्ने र जिल्लालाई देश तथा बिदेशमा समेत चिनाउने आयोजकले दावी गरेको छ ।