काठमाडौं – भारतका १६ वर्षीय एक किशोरले अनलाइन खेल पबजी खेल्न नदिएको भन्दै आमाको हत्या गरेका छन् । यो घटना भारत लखनउको यमनापुरम कोलोनीको हो ।भारतको समाचार एजेन्सी पीटीआईका अनुसार १६ वर्षीय किशोरमा पबजीको लत थियो । तर आमाले उनलाई पबजी नखेल्न भन्थिन् । यही झोंकमा उनले बुवाको लाइसेन्सप्राप्त पेस्तोलले गोली हानेर आमाको हत्या गरिदिए ।
मंगलबार भने ती किशोर आफैंले घटनाबारे आफ्नो बुवालाई जानकारी गराएको समाचारमा उल्लेख छ । उनका बुवाले छिमेकीलाई भनेपछि प्रहरीसम्म सूचना पुगेको थियो ।सुरुमा ती किशोरले घटनाको झुटो विवरण बताउने गरेका थिए । उनले घरमा आउने गरेका इलेक्टि्रसियनमाथि आरोप लगाउने गरेका थिए । तर अनुसन्धान गर्दै जाँदा उनले आमाको हत्या गरेको स्वीकार गरेको समाचारमा उल्लेख छ ।
भारत सरकारले दुई वर्ष अघि चीनमा निर्मित ११८ मोबाइल एप्सलाई बन्द गराएको थियो । त्यसमा पब्जी पनि एक हो । पब्जीको पूरा नाम ‘प्लेअर अन्नोन ब्याटल ग्राउण्ड’ हो । यो गेम इन्टरनेटमार्फत् इन्ड्रोइड फोनमा चल्छ ।भारतमा यो खेलको मोबाइल एप्स प्रतिबन्धित भए पनि डेस्कटप भर्जन उपलब्ध थियो । साथै यो खेल खेल्नेहरुले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गर्ने गरेको पाइएको छ ।