Sunday 7th August 2022

    दोश्रो र तेश्रो संस्करणको जिनियस म्युजिक अवार्ड २०७८ सफलतापुर्वक सम्पन्न    संगीतकार योगेन्द्र उपाध्यायका तिनवटा गीति एल्बम एकसाथ बिमोचन    राष्ट्रिय युवा परिषद्ले भोलि प्रशिक्षण मुलक कार्यक्रम गर्दै    Embassy of Pakistan organized a talk programme on “Kashmirs’ Youm-e-Istehsal”,    Embassy of Pakistan organized a talk programme on “Kashmirs’ Youm-e-Istehsal”,

अन्तराष्ट्रिय स्पेस स्टेशनको सुरक्षा र अन्य मिसन पूरा गर्नका लागि रुसको स्पेस एजेन्सीसँग सहकार्य गरिरहने : नासा

Thursday, March 3, 2022 National Power

काठमाडौं –  युक्रेनमाथि हमला गरेसँगै रुसविरुद्ध अमेरिका लगायतका पश्चिमा मुलुकहरुले विभिन्न प्रतिबन्धहरुको घोषणा गरेका छन् । त्यसमा कतिपय प्रतिबन्धहरु यस्ता छन् जसले रुसी अन्तरीक्ष कार्यक्रमलाई नै कमजोर गराइदिने छन् ।युक्रेन हमला पश्चात् रुस र अमेरिका बीचको सम्बन्ध तिक्ततापूर्ण बनेको छ । अमेरिकी प्रतिबन्धले रुसी अर्थतन्त्रलाई ठूलो झट्का दिने अमेरिकाका राष्ट्रपति जो बाइडेनले बताएका छन् । प्रतिबन्धहरुले रुसको एरोस्पेस उद्योगमा भारी नोक्सानी हुने बाइडेनको भनाइ छ ।

अमेरिकाले रुसी सेना, सामुद्रिक उद्योग, आर्थिक संस्था, रुसी राष्ट्रपति भ्लादमिर पुटिन र विदेश मन्त्री लगायतमाथि पनि प्रतिबन्ध लगाएको छ ।ह्वाइट हाउसका अनुसार रुसको अन्तरीक्ष कार्यक्रममा सिधै कुनैखाले प्रतिबन्ध त लगाइएको छैन तर कतिपय निकै संवेदनशील प्रविधिहरु रुसमा निर्यात गर्नमा रोक लगाइएको छ । उक्त प्रविधिको प्रयोग अन्तरीक्ष उद्योगमा हुने गर्दछ । अमेरिकाले रुसविरुद्ध सेमी कन्डक्टर, टेलिकम्युनिकेसन, एनक्रिप्सन सेक्योरिटी, लेजर, सेन्सर, नेभिगेसन, एभियोनिक्स तथा मेरिटाइम प्रविधिको निर्यातमा प्रतिबन्ध लगाएको छ ।

रुसमाथिको प्रतिबन्धपछि अन्तराष्ट्रिय स्पेस स्टेसनमा भैरहेको कामहरुमा के असर पर्ला रु किनकी स्पेस स्टेसन, अर्बिटल यात्रा तथा अन्तरीक्ष यात्रीको तालीमका विषयमा रुस र अमेरिकाबीच सम्झौता विद्यमान छ । अमेरिकाद्वारा लगाइएको नयाँ प्रतिबन्धले अन्तरीक्ष स्टेसनमा हुने रुसी गतिविधि र उपस्थितिमा कुनै प्रतिबन्ध नलागेको अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले जनाएको छ ।

अन्तरीक्ष मिसनमा नासा र रुसी अन्तरीक्ष एजेन्सी रोस्कोमस बीच सहकार्य हुने गरेको छ र अन्तराष्ट्रिय स्पेस स्टेसनको उपयोग गर्ने गर्दछन् । साथै अन्तरीक्ष यात्रीको तालीम पनि चलिरहन्छ ताकि स्पेस स्टेसनमा कुनैपनि बेला अन्तरीक्ष यात्रीको कमी नहोस् । नासाका अनुसार अर्बिटल मिसन तथा ग्राण्ड स्टेसन अपरेसनमा रुससँगै मिलेर काम भैरहेको छ । त्यसमा कुनैपनि प्रतिबन्ध नलागेको नासाको भनाइ छ ।

अन्तराष्ट्रिय स्पेस स्टेशनको सुरक्षा र अन्य मिसन पूरा गर्नका लागि रुसको स्पेस एजेन्सीसँग सहकार्य गरिरहने नासाले प्रष्ट पारेको छ । नासाका अनुसार अमेरिका र रुसबीच अन्तरीक्षमा गैरसैनिक सहकार्य जारी रहनेछ । रुसमाथि लगाइएका प्रतिबन्धको अन्तराष्ट्रिय स्पेस स्टेसनको काम कारवाहीमा कुनै असर नपर्ने नासाको भनाइ छ । तर नासाको उक्त प्रष्टीकरण भन्दा अगाडि रुसी अन्तरीक्ष एजेन्सी रस्कोमसका तर्फबाट भयानक प्रतिक्रिया बाहिर आएको थियो ।रस्कोमसका निर्देशक दिमित्री रोगोजिनले एक ट्वीट गर्दै अमेरिकाले अन्तराष्ट्रिय स्पेस स्टेशनमा रुसको सहयोग बन्द गरेमा स्पेस स्टेसनलाई युरोप वा अमेरिकामाथि खस्नका लागि कसले रोक्ने ? भनेर प्रश्न गरेका थिए ।

ट्वीटरमा उनले भनेका थिए– ५ सय टनको स्पेस स्टेसन भारत र चीनमाथि पनि खस्न सक्दछ । के तिमी उनीहरुलाई यसरी डर देखाउन चाहन्छौ ?  स्पेस स्टेसन रुसमाथि नउड्ने भएकाले आफूहरुलाई कुनै जोखिम नरहेको र सबै जोखिम युरोप, अमेरिका तथा विश्वका अन्य मुलुकहरुले उठाउनुपर्ने भन्दै उनले के अमेरिका यसका लागि तयार छ ?  भनेर प्रश्न गरेका थिए ।रस्कोमसका निर्देशकको उक्त ट्वीटपछि नासाले प्रष्टीकरण दिँदै अन्तरीक्ष स्टेसनमा रुस र अमेरिकाको सहकार्य जारी रहने र प्रतिबन्धले असर नपार्ने बताएको हो ।

यसअघि पनि अमेरिका र रुसबीच स्पेस स्टेसनका विषयमा विवाद उत्पन्न हुने गरेको थियो । गत वर्ष नोभेम्बरमा रुसले एन्टी स्याटेलाइट मिसाइल हानेर आफ्नो कसमस १४०८ ध्वस्त पारेको थियो । उक्त स्याटेलाइट २ हजार किलो तौलको थियो । रुसले सन् १९८२ मा उक्त स्याटेलाइट लञ्च गरेको थियो र केही वर्षदेखि निकम्मा बनेको थियो । एन्टी स्याटेलाइट मिसाइल हानेर ध्वस्त पार्नेबेला उक्त स्याटेलाइट पृथ्वीभन्दा ४८५ किलोमिटर माथि थियो । त्यसको केही तलको कक्षमा स्पेस स्टेसनले पृथ्वीको परिक्रमा गरिरहेको हुन्छ । उक्त घटनापछि अमेरिकाले स्पेस वाक कार्यक्रम रद्द गरेको थियो । किनकी उक्त विस्फोटपछि फैलिएको फोहोरले अन्तरीक्ष यात्रीको ज्यानलाई खतरा हुनसक्थ्यो । अमेरिकाले रुसी कदमको निन्दा गरेको थियो । रुसले लापरवाहीपूर्ण काम गरेको अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ताले टिप्पणी गरेका थिए । रुसले सन् २०१४ यता १० पटक एन्टी स्याटेलाइट मिसाइलको परीक्षण गरिसकेको छ । उसको उक्त मिसाइलको नाम नुडल एन्टी स्याटेलाइट मिसाइल सिस्टम हो ।

–एजेन्सी