Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

अफगानस्तिानमा दुई जना राष्ट्रपति !

Monday, March 9, 2020 National Power

काबुल — अफगानस्तिानमा एकै दिन दुई जनाले राष्ट्रपतिको शपथ लिने तयारी गरेका छन् । वर्तमान राष्ट्रपति असरफ घानी र प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले सोमबार राष्ट्रपतिको शपथ लिने भन्दै बेग्लाबेग्लै निमन्त्रणा जारी गरेका हुन् । केही दिनअघि देशको निर्वाचन आयोगले गत वर्षको सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा घानी विजयी भएको घोषणा गरेपछि सोमबार बिहानका लागि उनको शपथग्रहण समारोह तय भएको थियो ।

निर्वाचनमा धाँधली भएको भन्दै मतपरिणाम अस्वीकार गर्दै आएका अब्दुल्लाहले समानान्तर शपथग्रहण समारोहका लागि देशभित्र र बाहिरका उच्चपदस्थ व्यक्तित्वसहित कूटनीतिज्ञलाई निम्तो पठाएको उनका प्रवक्ताले शनिबार बताएका छन् । ‘हामीले सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंगठनलाई निमन्त्रणा पठाएका छौं र शपथग्रहणका लागि सबै तयारी पूरा भएको छ,’ अब्दुल्लाहका प्रवक्ता फ्राइदुन ख्वाजुनले भने, ‘काबुलमा सोमबार बिहान हुने घानीको शपथकै बेला अब्दुल्लाहको पनि शपथ हुनेछ ।’

अब्दुल्लाह र उनको गठबन्धनले राष्ट्रपतीय चुनाव आफूहरूले जितेकाले सरकार बनाउने बताउँदै आएका छन् । राष्ट्रपति घानीका प्रवक्ता सेदिक सेद्दिकीले भने गत वर्षको चुनावको आधिकारिक विजेता आफूहरूको भएको जिकिर गरेका छन् । ‘चुनावको समय सकिसकेको छ र देशको संविधानअनुसार स्वतन्त्र निकाय निर्वाचन आयोगले घानीले राष्ट्रपतीय चुनाव जितको प्रमाणपत्र पनि जारी गरिसकेको छ,’ सेद्दिकीले बताए । पुराना राजनीतिक प्रतिद्वन्द्वी घानी र अब्दुल्लाहले अमेरिकी सक्रियतामा यसअघिको सरकारमा शक्ति बाँडफाँट गरेका थिए । यसअनुसार घानीले राष्ट्रपति र अब्दुल्लाहले विशेष रूपमा बनाइएको प्रमुख कार्यकारीको पद लिएका थिए । युद्धग्रस्त अफगानिस्तान लामो समयदेखि घानी र असरफबीचको राजनीतिक खिचातानीबीच गुज्रिरहेको छ ।

कूटनीतिज्ञ र विज्ञहरूले अफगान राजनीतिक नेतृत्वबीचको खिचातानीले मंगलबारदेखि हुने भनिएको विद्रोही तालिवानसँगको बैठकलाई अप्ठेरामा पार्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘अफगान शान्ति प्रक्रियाका लागि यो खराब संकेत हो,’ अब्दुल्लाहको शपथग्रहण समारोहको तयारी भइरहेको भन्ने जानकारीसहितको निमन्त्रणा प्राप्त गरेका एक कूटनीतिज्ञले समाचार एजेन्सी रोयटर्ससँग बताए । सोमबारअघि नै दुई पक्षबीच सहमतिको बिन्दु खोज्न अमेरिकी विशेष प्रतिनिधि जाल्मे खलिलजादले दुवैतर्फका व्यक्तिसँग कुराकानी गरिरहेको जानकारी गराएका छन् । दुई परम्परागत राजनीतिक प्रतिद्वन्दीको विवादले १८ वर्षे लामो गृहयुद्ध रोक्ने अपेक्षा गरिएको शान्तिसम्झौता तार्किक निष्कर्षमा नपुग्नेतर्फ सचेत गराउँदै काबुलस्थित विभिन्न देशका कूटनीतिज्ञले वार्ता र छलफलमार्फत समस्याको समाधान गर्न घानी र अब्दुल्लाहलाई आग्रह गरेका छन् ।