Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

कोरोना भाइरस :स्वास्थ्य संकटकाल घोषणामा अमेरिकी राजनीति !

Tuesday, February 4, 2020 National Power

काठमाडौं –  चीनले सोमबार कोरोना भाइरसको विषयमा अमेरिकाले अनाश्यक डर, त्रास फैलाएको आरोप लगायो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिंगले अमेरिकाले रोग नियन्त्रणको प्रयासमा ठोस सहायता गर्नुको सट्टा स्थितिलाई भयावह बनाउने काम गरेको आरोप लगाइन् ।

‘अमेरिका पहिलो देश हो जसले चीनस्थित दूतावासका कर्मचारीलाई फिर्ता बोलाउने र चीन भ्रमण गरेर फर्केका यात्रुलाई आफ्नो देश प्रवेशमा रोक लगाउने काम गर्‍यो’ प्रवक्ता चुनयिंगले सञ्चार माध्यमहरूसँग भनेकी छन् ।

यो प्रतिक्रियाको निहितार्थ भने अमेरिकाको आफ्ना दुतावासका कर्मचारीलाई फिर्ता बोलाउने वा चीन पुगेका पर्यटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने निर्णयमा सीमित नरहेको विश्लेषकहरू बताउँछन् । विश्व स्वास्थ्य संगठनले ३० जनवरीमा नोवेल कोरोना भाइरसलाई लिएर ‘अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य संकट’ घोषणा गरेको असन्तुष्टि चिनियाँ विदेश मन्त्रालयमार्फत व्यक्त भएको उनीहरूको विश्लेषण छ ।

जेनेभामा बसेको अन्तराष्ट्रिय स्वास्थ्य नियमनको आपतकालीन समितिको बैठकले कोरोना भाइरसको प्रकोपलाई संकटकाल घोषणा गर्ने निर्णयप्रति चीन खुशी थिएन । त्यही बेखुशी प्रवक्ता चुनयिंगमार्फत प्रकट भएको जानकारहरू बताउँछन् । अष्ट्रेलिया र सिंगापुरले पनि चीन गएर फर्केका विदेशी नागरिकलाई आफ्नो देशमा आउन प्रतिबन्ध लगाइसकेको छ । न्युजिल्याण्ड, इजरायलले चीनको मुख्यभूमि तथा जापान र दक्षिण कोरियाले हुबेई प्रान्तमा यात्रा गरेका विदेशी नागरिकलाई आउन निषेध गरेको छ ।

फिनल्याण्ड, मिश्र, बेलायत, इटलीलगायतका देशले पनि चीनको मूख्यभूमिमा उडान भर्ने राष्ट्रिय ध्वाजाबाहक विमान कम्पनीको उडानमा रोक लगाएको छ । यसका बाबजुद प्रवक्ता चुनयिंगले अमेरिकाको मात्रै आलोचना गरेको देखिन्छ ।