Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

सोमालियामा विष्फोट, ७६ जनाको मृत्यु

Sunday, December 29, 2019 National Power

काठमाडौं-सोमालियामा कार बम विस्फोट हुँदा कम्तीमा ७६ जनाको ज्यान गएको छ । ९० भन्दा बढी घाइते भएका छन् । बिहानको व्यस्त समयमा राजधानी मोगादिशुको चेकपोस्ट नजिकै बम विस्फोट भएको हो । प्रत्यक्षदर्शीहरूले बताएअनुसार, सडक निर्माण कार्यमा जुटिरहेका टर्किस इन्जिनियरहरू नजिकै विस्फोट भएको थियो । सोमालियाका विदेश मन्त्री अहमद अवाडले ट्विट गर्दै मारिनेमध्ये दुई टर्किस इन्जिनियर रहेको जनाएका छन् ।

सोमालियामा भोकमरी सुरु भएदेखि टर्की त्यहाँको मुख्य दाता हो । उसले भोकमरी सुरु भएको सन् २०११ देखि नै सहयोग बढाउँदै आइरहेको छ । आक्रमणकारीको निसानामा विद्यार्थीसमेत परेका छन् । बसमा यात्रा गरिरहेका बन्दिर युनिभर्सिटीका कम्तीमा १६ विद्यार्थी बम विस्फोटको शिकार बनेको एएफपीले जनाएको छ ।

बिस्फोटमा घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या ७६ बाट बढ्ने अनुमान गरिएको छ । प्रत्यक्षदर्शीहरूले विस्फोटपछि दारुणिक दृश्य देखेको र सम्हालिन कठिन भएको प्रतिक्रिया दिएका छन् । ‘विस्फोटपछि मृत शरीरहरू तितरवितर भएर छरिएका थिए । केही शव चिन्नै नसकिने गरी जलेका छन्’, सकारिए अबदुकादिर नामका एक प्रत्यक्षदर्शीले घटनाको विभत्स दृश्य वर्णन गर्दै भनेका छन् ।

विस्फोटको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । अल-शाबब मिलिट्यान्सले पटक(पटक आक्रमण गर्ने गरेकाले उसैमाथि शंका गरिएको छ । अल-शाबब इस्लामिक विद्रोहीको एउटा समूह हो । यो अलकायदासँग पनि सम्बद्ध छ । जसले १० वर्षसम्म सशस्त्र संघर्ष चलाएको थियो । सन् २०११ मा यो समूहलाई राजधानीबाट निस्तेज पारिएको थियो । तर, अझै पनि यसले देशका अधिकांश भागमा नियन्त्रण जमाइरहेको छ ।

सोमालियाका राष्ट्रपति मोहम्मद अब्दुल्लाह फर्माजोले आक्रमणको भत्र्सना गर्दै सोमालिया जनतालाई निरुत्साहित गर्न आक्रमण भएको प्रतिक्रिया दिएका छन् । जनतालाई हतोत्तसाहित गर्ने प्रयत्न भए पनि देश निर्माण प्रक्रिया नरोकिने उनले उद्घोष गरेका छन् । ‘सोमालियाका जनतालाई निरुत्साहित गर्न आक्रमणका प्रयास भए पनि सोमालिया निर्माण कहिल्यै रोकिने छैन’, राष्ट्रपति फर्माजोले आक्रमणलगत्तै प्रतिक्रिया दिँदै भनेका छन् ।