Tuesday 23rd April 2024

    फान अवार्डको तेश्रो संस्करण असार तेश्रो साता हुदै    चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक    यूएईमा राष्ट्रिय लोक सांस्कृतिक संघको साँस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न    नेपालमै अब अन्तर्राष्ट्रियस्तरको जिम ट्रेनर प्रशिक्षण    मिष्टर एण्ड मिस नेशनलमा भिड्दै डा. आयुष्नोभा

४ अर्ब भाइमसलामा बाहिरियो

Thursday, October 24, 2019 National Power

काठमाडौं – नेपाली हिन्दुहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै बजारमा किनमेल गर्नेहरुको भीड पनि बढ्न थालेको छ । तिहारमा खासगरी फूल, बत्ती र भाइमसलाको अत्यधिक माग हुन्छ ।

विदेशबाट घर–आँगन सजावटका साम्रग्री र बिजुलीका सामानबाहेक भाइ मसलाको आयात हुने गरेको छ । भन्सार विभागका अनुसार तिहारलाई लक्षित गरेर १६ भन्दा धेरै प्रकारका वस्तुहरु व्यवसायीले आयात गरेका छन् । नरिवल, काजु, बदाम, अलमण्ड, ओखर, कटुस, पिस्ता, सुपारी, केरा, खजुर, छोगडा, अम्बा, आँप, सुन्तला, कागती तथा अमिला फलफूल, अंगुर, किसमिस र स्याउ आयात भएका छन् ।

नेपालमै प्रशस्त उत्पादन हुने सिजनल फलफूलहरु केरा, सुन्तला, सुपारी, कटुस, नरिवल र बदामसमेत चालू आर्थिक वर्षको सुरुवाती तीन महिनामा भारतलगायतका देशबाट आयात भएका छन् । चालु आर्थिक वर्षको तीन महिनामा तिहारका सामग्रीको आयातमा विदेशिएको रकम अघिल्लो वर्षको तुलनामा न्यून देखिएको छ । अघिल्लो वर्ष ७ करोड ३० लाख १५ हजार ३१९ किलो परिमाणको त्यस्ता वस्तु आयात गर्न नेपालबाट १२ अर्ब ३९ करोड ८४ लाख ४३ हजार २४८ रुपैयाँ बाहिरिएको थियो ।

तर यस वर्ष ७ करोड ४४ लाख ५६ हजार ६४७ किलो बराबरको वस्तु आयात गर्न ३ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ मात्रै खर्च भएको छ । अघिल्लो वर्षको तुलनामा तिहारको आयात खर्च ९ अर्ब हाराहारीले घटेको छ । यस वर्ष तिहारमा प्रयोग हुने वस्तुमा बाहिरीने रकममा भारी गिरावट आए पनि वस्तुको परिमाण भने १४ लाख किलो हाराहारीले मात्रै घटेको देखिएको छ ।

नेपालमा व्यावसायिक खेती हुने गरेको केरा, स्याउ, सुपारी, बदामजस्ता वस्तु पनि भारतलगायतका मुलुकबाट तिहारको छेको पारेर आयात भएको छ । चालू आर्थिक वर्षको श्रावण, भदौ र असोज तीन महिनामा ३५ लाख ३७ हजार किलो नरिवल आयात भएको छ । यस वर्ष नरिवल खरिदका लागि मात्रै २३ करोड ७८ लाख रुपैयाँ मुलुकबाट बाहिरिएको छ । गत वर्ष ३६ लाख ६२ हजार किलोभन्दा धेरै नरिवल आयात भएको थियो । सो अवधिमा नरिवल किन्न २६ करोड ८४ लाखभन्दा धेरै बाहिरिएको थियो । गत वर्ष ४ लाख १९ हजार किलो काजु आयात गरेको नेपालले यस वर्ष सोही अवधिमा ३ लाख १४ हजार किलोमात्रै आयात गरेको छ । यस्तै यस वर्ष बदाम र आलमण्ड १ लाख ६६ हजार किलो आयात भएको छ । गत वर्ष २ लाख ५३ हजार आयात भएको थियो ।

यस्तै, २ लाख ४० हजार किलो ओखर, एक सय किलो कट्टुस, एक लाख ५४ हजार किलो पिस्ता, १८ लाख ५३ हजार किलो सुपारी, २ करोड ९७ लाख किलो केरा, ९ लाख ५६ हजार किलो खजुररछोगडा, ३९ लाख २५ हजार किलो अम्बा र आँप, २२ लाख ७५ हजार किलो सुन्तला, ४७ लाख ९० हजार किलो कागती तथा अमिलो फलफूल, १० लाख ७९ हजार किलो अंगुर, २ लाख १६ हजार किलो किसमिस र २ करोड ५१ लाख ३७ हजार किलो स्याउ नेपालले आयात भएको छ ।

अनलाईन खबरबाट