Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

भारतबाट आउने तरकारीमा विषादी परीक्षण नगर्ने निर्णयको विरोध

Saturday, July 6, 2019 National Power

काठमाडौं– सरकारले भारतबाट आउने तरकारी वा फलफूलमा विषादीको परीक्षण गर्ने निर्णयलाई स्थगित गरेकोप्रति नेकपा मसालले विरोध गरेको छ। ‘भारतीय दवावमा भएको यो कार्यलाई नेकपा (मसाल)ले गलत मान्दछ र त्यो निर्णयको तीव्र शब्दमा भत्र्सना गर्दछ’ मसाल महामन्त्री मोहन विक्रम सिंहले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसले सरकारको भारतीय साम्राज्यवादप्रतिको सम्झौतापरस्त नीति मात्र होइन, नाङ्गो प्रकारको आत्मसमर्पणको प्रवृत्तिलाई पनि बताउँछ । सरकारको त्यो निर्णयबाट नेपाली जनताको स्वास्थ्यप्रति सरकारको गम्भीर प्रकारको गैरजिम्मेवारीपूर्ण कार्यशैलीलाई पनि बताउँछ ।’

अन्तर्राष्ट्रिय कानुनअनुसार नै कुनै देशको सरकारलाई अन्य देशबाट आउने खाद्यान्नको परीक्षण गर्ने अधिकार रहने भन्दै मसालले निर्णयमा परिवर्तनका लागि दवाव दिएर भारत सरकारले आफ्नो साम्राज्यवादी चरित्रको नाङ्गो प्रदर्शन गरेको आरोप लगाएको छ ।
तरकारी र फलफूलजस्ता सामान्य विषयहहरूमा समेत भारतको दवाव वा हस्तक्षेपको नीति हुनु गम्भीर भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भारतले नेपालको संविधान, गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता, सुरक्षा, प्रशासन, परराष्ट्रनीति, अर्थतन्त्र, नागरिकता, जलस्रोत र सीमा आदि सबै विषयहरूमा दशकौँदेखि लगातार हस्तक्षेप गर्दै आएको उल्लेख गर्दै मसालले भनेको छ, ‘तरकारी वा फलफुलको प्रश्नमा अहिले त्यसले गरेको हस्तक्षेप त्यो लामो सिलसिलाको सामान्य, तात्कालीक र प्रकट रूप मात्र हो ।’
मसालले देशका बृहत्तर राष्ट्रिय हितको रक्षाका लागि उच्च प्रकारको शतर्कता अपनाउनका लागि नागरिकस्तरमा अपिल समेत गरेको छ।