Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

अब भिसामा सामाजिक सञ्जालको विवरण पेश गर्नुपर्ने

Sunday, June 2, 2019 National Power

काठमाडौं – ट्रम्प आप्रवासीप्रति निकै गरम देखिँदै आएका छन् । अमेरिकाको स्टेट डिपार्टमेन्टले भिसा आवेदकका लागि विद्यमान व्यवस्थामा परिमार्जन गर्दै सामाजिक सञ्जालका गतिविधिहरु आवेदनका क्रममा पेश गर्नुपर्ने नयाँ नियम लागू गरेको छ । अमेरिकाका भिसा आवेदकले अब सामाजिक सञ्जालका आफ्ना गतिविधिहरुको पनि विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने भएको छ ।

ट्रम्प प्रशासनले सन् २०१८ को मार्चमा यससम्बन्धी प्रस्ताव गरेको थियो । यस्तो प्रस्तावपछि केही आलोचना समेत भएको थियो । अमेरिकाको नागरिक अधिकारबारे वकालत गर्ने अमेरिकी सिभिल लिबर्टिजले यसको प्रभावकारिता र निष्पक्षतामाथि प्रश्न उठाएको थियो । त्यसको केही समयपछि कार्यान्वयनमा ल्याइएको यो व्यवस्थाबाट झण्डै एक करोड ४७ लाख मानिसहरु प्रभावित हुने अनुमान छ ।

स्टेट विभागका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले आवेदकहरुले सामाजिक सञ्जालको नामसँगै पाँच वर्षदेखि प्रयोग गरिरहेको इमेल ठेगाना र फोन नम्बरको विवरण बुझाउनुपर्ने व्यवस्था बनाएको उल्लेख गरेको छ । खासगरी काम र अध्ययनका लागि अमेरिका जान चाहनेका लागि सामाजिक सञ्जाल, फोन नम्बर र इमेल ठेगानाको विवरण अनिवार्य रुपमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

तर, केही निश्चित कूटनीतिज्ञ र औपचारिक भिसाका आवेदकको हकमा भने यो नियम लागू हुनेछैन । उनीहरुले सामाजिक सञ्जालको विवरण पेश नगरी पनि भिसा प्राप्त गर्न सक्नेछन् । सामाजिक सञ्जाल प्रयोगबारे कसैले झूटो बोलेको भेटिएमा उसले गम्भीर आप्रवासन परिणाम भोग्ने एक अमेरिकी अधिकारीले बताएका छन् । यसअघि आतंकवादी समूह नियन्त्रित क्षेत्रका मानिसहरुले मात्र सामाजिक सञ्जालका गतिविधि भिसा लिनुअघि बुझाउनुपर्दथ्यो ।

‘वैध यात्रा र अमेरिकी नागरिकको रक्षाका लागि लगातार स्क्रिनिङ प्रक्रिया सुधारको मेकानिजम पत्ता लगाउन हामी लागिपरेका छौं’, अमेरिकाको स्टेट डिपार्टमेन्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विभिन्न देशका नागरिकहरु अध्ययन तथा कामका लागि ठूलो संख्यामा अमेरिका जाने गरेका छन् । कम विकसित देशका लागि अमेरिका रोजाइको पहिलो गन्तव्यमा पर्छ ।