काठमाडौं – विश्वकप समूह चरण रोमाञ्चक बनिरहेको खेलमा बिहीबार अर्को रोमाञ्चकता थपिँदैछ । बेलुका पौने ८ बजे समूह ‘एच’ का जापान र पोल्याण्ड तथा सेनेगल र कोलम्बियाबीच खेल हुँदैछ । उक्त खेल विश्वकपबाट बाहिरिसकेको पोल्याण्डका लागि प्रतिष्ठाका लागिमात्रै हुनेछ भने बाँकी ३ टिम अन्तिम १६ मा पुग्नका लागि प्रतिस्पर्धा गर्नेछन् ।
जापान र सेनेगलको चाररचार अंक रहेको छ भने कोलम्बियाको तीन अंक छ । पोल्याण्डले भने यसअघिका दुवै खेल हारेर अंकविहीन छ । जापान र सेनेगललाई अघिल्लो चरण प्रवेशका लागि बराबरी मात्रै भए पुग्छ । कोलम्बियाका लागि सेनेगलमाथि जित आवश्यक पर्छ । तर जापान पोल्याण्डसँग पराजित भएमा र सेनेगल र कोलम्बियाले बराबरी खेलेमा जापानको पनि विश्वकप यात्रा यहीँ टुंगिन सक्छ ।
जापान भर्सेस पोल्याण्ड
पहिलो दुई खेलमा पछि मात्रै मैदान प्रवेश पाएका जापानका सिन्जी ओकाजाकी पोल्याण्डविरुद्ध सुरुवाती ११ मै खेल्दै छन् । जापानका गोलकिपर इजी कावासिमाले पहिलो दुई खेलमा सामान्य गल्ती गरेकाले उनको स्थानमा २३ वर्षका गोलकिपर कोसुके नाकामुरालाई खेलाइँदै छ ।
पोल्याण्ड समूह चरणबाटै बाहिरिसकेकाले टिममा केही परिवर्तन गरेर सबैलाई अवसर दिँदै छ । घाइते रहेका डिफेन्डर कमिल ग्लिक पनि ठीक भइसकेका छन् । पोल्याण्ड र जापानबीच भएका दुई मैत्रीपूर्ण खेल जापानले जितेको थियो । सन् १९६६ मा ५-० ले र २००२ मा २-० ले जापान विजयी भएको थियो ।
सुरुवाती दुई खेलमा अपराजित रहेको जापान विश्वकप समूह चरणमा अपराजित रहेको यसअघि सन् २००२ मा हो । त्यतिबेला दुई खेल जितेको थियो भने एक खेल बराबरी भएको थियो । जापानका केसुके होण्डा तीन फरक विश्वकपमा गोल गर्ने पहिलो जापानी बनेका छन् । उनले २०१०, २०१४ र २०१८ को विश्वकपमा गोल गरे ।
जापानले विश्वकपमा गरेका पछिल्ला १० गोलमध्ये ७ गोलमा उनकै योगदान छ । चार गोल उनले गरेका थिए भने तीन गोलका लागि पास मिलाएका थिए । यसैले पोल्याण्डविरुद्धको खेलमा पनि अनुभवी होण्डा महत्वपूर्ण रहेका छन् ।
पोल्याण्डले विश्वकप समूह चरणमा एक खेल पनि नजितेको सन् १९३८ मा मात्रै हो । सुरुदेखि नकआउट खेल हुने त्यो समय पोल्याण्ड ब्राजिलसँग ६-५ ले हारेको थियो ।
सेनेगल भर्सेस कोलम्बिया
सेनेगलले पोल्याण्डलाई हराएको खेलमा ४-४-२ को फर्मेसनमा खेलाएको थियो भने जापानसँग बराबरी भएको खेलमा ४-३-३ को फर्मेसन बनाएको थियो । यसैले कोलम्बियासँग बराबरी मात्रै भए पुग्ने हुँदा सेनेगलले डिफेन्सिभ फर्मेसन बनाउने देखिन्छ ।एक खेल प्रतिबन्ध लागेका कोलम्बियाका कार्लोस सान्चेज सेनेगलविरुद्धको खेलमा उपलब्ध भएका छन् । मिडफिल्डर अबेल अगुलर भने घाइते रहेकाले मैदानमा हुने छैनन् । उनको स्थानमा माटियस उरबीलाई खेलाइँदै छ ।
सेनेगल र कोलम्बियाबीच यसअघि भएको एकमात्र मैत्रीपूर्ण खेल बराबरी भएको थियो । सेनेगललाई बराबरी भए पुग्ने र कोलम्बियालाई जित्नै पर्ने हुँदा कोलम्बियन टिम दबावमा छ ।