Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

चैनपरको सिद्धकालीमा धर्मशालाको शिलान्यास

Thursday, January 25, 2018 National Power

११ माघ ,संखुवासभा – पूर्वी नेपालकै चर्चित चैनपुरको शक्तिपीठ सिद्धकाली मन्दिर परिसरमा निर्माण हुने पक्की ट्रससहितको एक तले धर्मशालाको शिलान्यास गरिएको छ ।चैनपुर नगरपालिका वडा नं ६ निवासी स्व सिंहमान श्रेष्ठको सम्झनामा उहाँका परिवारजनको सक्रियतामा निर्माण गरिने उक्त धर्मशालाको चैनपुर नगरपालिकाका प्रमुख एवं सिद्धकाली मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष भरतकुमार खत्रीले बुधबार शिलान्यास गर्नुभयो ।

करिब रु आठ लाखको लागतमा धर्मशाला निर्माण गर्न लागिएको चैनपुर नपा वडा नं ३ का वडाध्यक्ष बलबहादुर अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार स्व श्रेष्ठको सम्झनामा उहाँका छोरा दिलीपसिंह र श्रीमती जया तथा चन्द्रशेखर श्रेष्ठको छोरा रविको संयुक्त लगानीमा धर्मशाला निर्माण गर्न लागिएको हो । तीन महिनाभित्र धर्मशाला निर्माण गरिसक्ने लक्ष्य राखिएको मन्दिर संरक्षण तथा संवद्र्धन समितिले जनाएको छ । धर्मशाला निर्माणसँगै मन्दिरमा तीर्थ व्रत गर्न आउने भक्तजनलाई सहज हुने मन्दिरका पुजारी टंकनाथ महन्तले बताउनुभयो ।

तोकिएको सेवा सुविधा उपलब्ध गराउन माग 

यसैबीच, चैनपुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालय एवं बालविकास सिकाइ केन्द्रमा कार्यरत बाल शिक्षिकाले तोकिएको सेवा सुविधा उपलब्ध गराउन माग गर्दै बुधबार नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । सरकारले बालशिक्षालाई विद्यालय तह संरचनामा गाभेसँगै प्रोत्साहन भत्ताका रुपमा मासिक रु छ हजार मात्र दिएर काममा लगाएको भन्दै न्यूनतम पारिश्रमिक, आइएलओ महासन्धिअनुसार तलब स्केल कायम गरी सेवा सुविधा उपलब्ध गराउन माग गर्दै उनीहरुले ज्ञापन पत्र बुझाएका हुन् ।

क्षमता अभिवृद्धिसम्वन्धी तालिम उपलब्ध गराउन, पोशाक भत्ताको व्यवस्था गरी सामुदायिक विद्यालयमा कार्यरत शिक्षकशिक्षिका सरहको सेवा सुविधा उपलब्ध गराउन माग गर्दै नगरपालिकामा ज्ञापनपत्र बुझाइएको बाल विकास सहयोगी कार्यकर्ता हकहित संरक्षण नगर समितिका अध्यक्ष मनमाया राईले जानकारी दिनुभयो । चैनपुर नगरपालिका क्षेत्रभित्र ४६ जना बालविकास सहयोगी कार्यकर्ता कार्यरत रहेको सो संस्थाका सचिव चेतना भट्टराईले जानकारी दिनुभयो ।