
काठमाडौं- साहित्य र संगीत दुवै क्षेत्रमा सक्रिय सर्जक देवी घिमिरे को बहुप्रतीक्षित उपन्यास ‘मनझोली’ भव्य कार्यक्रमबीच लोकार्पण गरिएको छ। उपन्यास समाज, नेपाल को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाली साहित्य क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि हेमनाथ पौडेल ले समाजमा रहेका विविध विषयवस्तुहरू साहित्यका कच्चा सामग्री भएको उल्लेख गर्दै तिनै आधारमा उत्कृष्ट सिर्जना सम्भव हुने बताए। उनले ‘मनझोली’ उपन्यासले विशेषगरी बुबाआमाको जीवनसँग सम्बन्धित कथालाई आख्यानीकरण गरेको र यसको शीर्षक तथा कथावस्तु दुवै मौलिक रहेको धारणा राखे।
साहित्यकार श्रीओम श्रेष्ठ रोदन ले समालोचक गोविन्दराज भट्टराई को भनाइ उद्धृत गर्दै उपन्यास लेखन साहित्यकारको पहिचानको महत्वपूर्ण आधार भएको बताए। उनले ‘मनझोली’ यथार्थसँग नजिक रहेको र अत्यन्त पठनीय कृति भएको टिप्पणी गरे।
विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ ले उपन्यासको समीक्षा गर्दै यसमा बालविवाह, नारी पीडा जस्ता सामाजिक यथार्थको प्रभावशाली चित्रण रहेको बताए। उनले कृतिको भावभूमिलाई विभिन्न नेपाली कृतिहरूसँग तुलना गर्दै यसको जीवनदर्शन, मानवता र संवेदनशीलता प्रशंसनीय रहेको उल्लेख गरे।
समीक्षक टी.एन. भट्ट ‘विश्वामित्र’ ले उपन्यासलाई छोरीले आफ्ना आमाबुबाको संघर्ष, अनुभव र भोगाइलाई मार्मिक रूपमा प्रस्तुत गरेको कृति भएको बताए। उनका अनुसार ‘मनझोली’ दाताराम र नरमायाको संघर्षमार्फत सामाजिक यथार्थलाई उजागर गर्ने प्रभावशाली उपन्यास हो।
त्यस्तै, समीक्षक निमग्ना घिमिरे ले उपन्यासले करिब ८० वर्ष अघिको समाजको जीवनशैली र परिवेशलाई जीवन्त रूपमा चित्रण गरेको उल्लेख गरिन्। उनले बहुपात्र, विविध स्थान र पारिवारिक यथार्थको सफल संयोजनले कृतिलाई अझ सशक्त बनाएको बताइन्।
कार्यक्रममा लिलादेवी गर्तौला, दाताराम घिमिरे, बन्धुराज शर्मा घोरासाइने, प्रकाश तिवारी लगायतले पनि मन्तव्य राख्दै कृतिको सफलताको कामना गरेका थिए।
लेखिका देवी घिमिरेले आफ्नो पाँच वर्षे निरन्तर प्रयासपछि उपन्यास प्रकाशन गर्न सफल भएको भन्दै आजको दिन आफूका लागि अत्यन्त विशेष भएको प्रतिक्रिया दिइन्। हालसम्म आधा दर्जन गीत रेकर्ड गराइसकेकी उनले साहित्यिक यात्रालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।
उपन्यास समाज, नेपाल का अध्यक्ष शंकर भारती को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन देवी पराजुली ले गर्नुभएको थियो।
‘मनझोली’ उपन्यासले नेपाली समाजको यथार्थ, पारिवारिक सम्बन्ध र संघर्षका कथा मार्फत पाठकलाई गहिरो अनुभूति गराउने अपेक्षा गरिएको छ।