Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

१६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

Tuesday, March 17, 2026 National Power

काठमाडौँ – बिन्ध्यवासिनी म्युजिक अवार्डको १६औँ संस्करण आगामी चैत २७ गते राजधानीमा आयोजना हुने भएको छ। बिन्ध्यवासिनी फाउण्डेसनले हालै नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट होटलमा बसेको सल्लाहकार तथा कार्यसमितिको संयुक्त बैठकमार्फत यस वर्षका विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गर्ने व्यक्तित्वहरूको घोषणा गरेको हो।

मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा आयोजना हुने ‘रमपम बिन्ध्यवासिनी म्युजिक अवार्ड २०८२’ मा वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटालाई एक लाख रुपैयाँ नगद र सम्मानपत्रसहित ‘बिन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड २०८२’ प्रदान गरिने भएको छ।

त्यसैगरी, गीतकार विजय शिवाकोटीलाई ५० हजार रुपैयाँ नगदसहित ‘बिन्ध्यवासिनी संगीत साधना सम्मान २०८२’ तथा पत्रकार पवन आचार्यलाई २५ हजार रुपैयाँ नगदसहित ‘बिन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०८२’ प्रदान गरिनेछ।

नेपाली संगीत क्षेत्रका अग्रज गायक स्वर्गीय प्रेमध्वज प्रधानको स्मृतिमा स्थापित ‘प्रेमध्वज संगीत रत्न सम्मान’ यस वर्ष गायिका रचना रिमाललाई २५ हजार रुपैयाँ नगद र सम्मानपत्रसहित प्रदान गरिने भएको छ। यस्तै, लोकगायक झलकमान गन्धर्वको नाममा स्थापित ‘झलकमान लोक–संगीत सम्मान २०८२’ बाट लोकदोहोरी गायक पशुपति शर्मालाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिनेछ।

बिन्ध्यवासिनी फाउण्डेसनकी अध्यक्ष लीना रेग्मीका अनुसार यस वर्षदेखि अवार्डका विधा घटाइएको छ। अब पब्लिक च्वाइस अवार्डसहित कुल ११ विधामा मात्रै पुरस्कार प्रदान गरिनेछ। साथै, प्रत्येक विधाका विजेतालाई ट्रफीसहित ५ हजार रुपैयाँ नगद प्रदान गरिने पनि उनले जानकारी दिइन्।

अवार्ड कार्यक्रम चैत २७ गते राष्ट्रिय नाचघर, जमलमा आयोजना हुने कार्यक्रमका सञ्चालक सुवास रेग्मीले जानकारी दिएका छन्।