Monday 6th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण देखिन थाल्यो

Wednesday, December 27, 2023 National Power

काठमाडौँ  – सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा फेरि कोरोना सङ्क्रमण देखिन थालेको छ । पढाई तथा रोजगारीको खोजीमा भारतका विभिन्न ठाउँ पुगेर स्वदेश फर्किनेहरूमा फेरि कोरोना भाइरस देखिन थालेको हो । पछिल्लो डेढ सातायता नियमित रूपमा एकदेखि तीन जनासम्ममा दैनिक रूपमा कोरोना भाइरस पुष्टि हुन थालेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

भारतका विभिन्न ठाउँहरूबाट सुदूरपश्चिम प्रवेश गर्नेहरूमध्ये केहीमा कोभिड सङ्क्रमण देखा पर्न थालेको उनले बताए । कोभिड–१९ सङ्क्रमण सुरु भएयता सुदूरपश्चिममा ६ लाख ७१ हजार पाँच सय १० जनाको परीक्षण गरिएकोमा ६२ हजार चार सय ८४ व्यक्तिमा सङ्क्रमण देखा परेको थियो । अहिलेसम्म सुदूरपश्चिममा कोभिडबाट ६ सय ३७ जनाको मृत्यु भइसकेको  छ । बुधबार पनि गौरीफन्टा नाकामा भारतबाट सुदूरपश्चिम आएका एक जनामा कोरोना देखिएको छ ।

यस्तै, आइतबार मात्र गौरीफन्टा नाकाबाट भित्रिएका ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस अगाडि गत हाप्ता बुधवार र बिहीबार पनि ४ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । भारतमा कोरोनाको नयाँ भेरियन्ट देखा परेपछि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा उच्च सतर्कता अपनाइएको छ । सीमा नाकामा रहेको हेल्थ डेस्कबाट नियमित रूपमा कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिने सबैमा एन्टीजेन विधिमार्फत कोरोना परीक्षण भइरहेको भट्टले जानकारी दिए । भारतमा अझै पनि सङ्क्रमित भेटिरहेका र त्यसबाट नेपालमा पनि जोखिम बढ्नसक्ने भएकाले सीमामै परीक्षण जारी राखिएको उनको भनाइ छ ।