Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

पितृका नाममा छरियो शतबीज

Monday, November 25, 2019 National Power

काठमाडौं – बालाचतुर्दशीअन्तर्गत पितृका नाममा आज शतबीज छरिएको छ । साँझ दीपदान गरी रातभर भजनकीर्तन गरेर जाग्राम बसेकाहरुले बिहानको झिसमिसेमा शतबीज छरेका हुन् । प्रत्येक वर्ष मंसिर त्रयोदशीका दिन दीपदान गर्ने र चतुर्दशीका दिन शतबीज छर्ने परम्परा छ । भगवान् शिव मृगरूप लिएर घुमेको भनिने क्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवगंत आत्माले पनि मुक्ति पाउने धार्मिक विश्वास छ ।

सोमबार बिहान काठमाडौंको पशुपतिनाथ मन्दिर वरपर शतबीज छर्नेहरुको घुइँचो थियो । पशुपति क्षेत्रको १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुहृयेश्वरी, मृगस्थली, विश्वरूप, किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । शतबीज छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्‍याइदिन अनुरोध गर्ने चलन छ ।

शतबीज छर्न पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुहृयेश्वरीको पूजा अनिवार्य गर्नुपर्ने शास्त्रीय वचन छ । शतबीजमा हाल धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो मिसाएर छर्ने चलन छ । तर, नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा। डा। रामचन्द्र गौतम भन्छन्, ‘हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार धानका सय गेडा चढाउनुपर्छ, अरु होइन ।’

माता पिता दिवंगत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज छर्न नहुने समितिका अध्यक्ष गौतमले बताए ।