Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

पितृका नाममा छरियो शतबीज

Monday, November 25, 2019 National Power

काठमाडौं – बालाचतुर्दशीअन्तर्गत पितृका नाममा आज शतबीज छरिएको छ । साँझ दीपदान गरी रातभर भजनकीर्तन गरेर जाग्राम बसेकाहरुले बिहानको झिसमिसेमा शतबीज छरेका हुन् । प्रत्येक वर्ष मंसिर त्रयोदशीका दिन दीपदान गर्ने र चतुर्दशीका दिन शतबीज छर्ने परम्परा छ । भगवान् शिव मृगरूप लिएर घुमेको भनिने क्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवगंत आत्माले पनि मुक्ति पाउने धार्मिक विश्वास छ ।

सोमबार बिहान काठमाडौंको पशुपतिनाथ मन्दिर वरपर शतबीज छर्नेहरुको घुइँचो थियो । पशुपति क्षेत्रको १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुहृयेश्वरी, मृगस्थली, विश्वरूप, किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । शतबीज छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्‍याइदिन अनुरोध गर्ने चलन छ ।

शतबीज छर्न पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुहृयेश्वरीको पूजा अनिवार्य गर्नुपर्ने शास्त्रीय वचन छ । शतबीजमा हाल धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो मिसाएर छर्ने चलन छ । तर, नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा। डा। रामचन्द्र गौतम भन्छन्, ‘हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार धानका सय गेडा चढाउनुपर्छ, अरु होइन ।’

माता पिता दिवंगत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज छर्न नहुने समितिका अध्यक्ष गौतमले बताए ।