Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

अायाेजक झापा फाइनलमा

Friday, February 3, 2017 National Power

२१ माघ, झापा– आयोजक टोली रमपम झापा–११ फुटबल क्लब झापामा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबारको पहिलो सेमिफाईनल खेलमा झापाले हिमालयन शेर्पालाई ४–० गोलअन्तरले पाखा लगाउँदै अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेको हो । फाइनल प्रवेशसँगै झापाले कम्तिमा नगद ३ लाख ५० हजार रुपैयाँ सुरक्षित गरेको छ ।

खेलअवधिभर झापाका सामु हिमालयन शेर्पा निरीह देखियो । खेलको पहिलो हाफमा झापाले १–० को अग्रता लिएको थियो । खेलको २८ औँ मिनेटमा झापाका स्ट्रइकर कर्ण लिम्बूले गोलको खाता खोलेका हुन् । रजिन धिमालको लामो पासलाई कर्णले हेडमार्फत नाटकीय गोल गरे । दोस्रो हाफमा झापाले थप ३ गोल ग¥यो । कर्णले नै व्यक्तिगत दोस्रो गोल गर्दै झापालाई २–० को अग्रता दिलाए । खेलको ७९औँ मिनेटमा डी–बक्सभित्र बुद्ध चेम्जोङले मिलाइदिएको पासलाई सदुपयोग गर्दै कर्णले बललाई जाली चुमाएका हुन् । झापाका लागि तेस्रो गोल बुद्ध चेम्जोङले गरे । खेलको ८७औँ मिनेटमा दिलेन लोक्तामको पासमा उनले झापालाई ३–० को अग्रता दिलाएका हुन् । ९०औँ मिनेटमा झापाका खमिर गिल्सन कन्दङ्बाले गोल गर्दै टिमलाई ४–० को जीत सुनिश्चत गरे ।


यसअघि खेलको छैठौँ मिनेटमा झापाका कप्तान नगेन्द्रमणि लिम्बूले गोल लाइनको नजिकैबाट पुस गरेको बल बाहिरिएको थियो । २२ औँ मिनेटमा झापाका सञ्जोग राईको लामो प्रहारले सहि दिशा लिन सकेन । खेलको ३३ औँ मिनेटमा हिमालयन शेर्पाका विश्वास श्रेष्ठले १–१ को बराबरी गर्ने सुनौलो अवसर गुमाए । उनको गतिलो प्रहार पोलमा लागेर फर्कियो ।

दोस्रो हाफ सुरु हुनेबित्तिकै झापाका सञ्जोग राईको प्रहार पोलभन्दा निकै बाहिर गयो । दोस्रो हाफकै २४औँ मिनेटमा हिमालयनका निशाल लिम्बूले हेड गरेको बल झापाका गोलरक्ष एलन न्यौपानेले बाहिर धकेलिदिए । झापा–११ र हिमालयन शेर्पाको यसअघि एकपटक मात्र भेट भएको थियो । मङ्सिरमा सम्पन्न काँकरभिट्टा गोल्डकपमा झापाले टाइब्रेकरमा हिमालयन शेर्पालाई ४–३ गोलअन्तरले पाखा लगाएको थियो ।

शुक्रबारको खेलको म्यान अफ द म्याच झापा–११ बाट २ गोल गर्ने कर्ण लिम्बू घोषित भए । उनलाई म्याप्स हाउजिङ प्रालिका तर्फबाट अञ्जनी सङ्ग्रौलाले नगद ७ हजार रुपैयाँ प्रदान गरे । त्यसैगरी बिर्तामोडस्थित एक्सपर्ट एजुकेशन एण्ड भीसा सर्भिसले लक्की ड्रमार्फत दर्शकमध्येका एक हरी मैनालीलाई एक्सपर्ट फ्यान अफ द डे घोषणा गर्दै नगद ५ हजार प्रदान ग¥यो ।

प्रतियोगिताअन्तर्गत शनिबार हुने दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र मनाङ मस्र्याङदी क्लबबीच भिडन्त हुने आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए । आर्मीले मङ्गलबार रुपन्देही–११ लाई पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको थियो । मनाङले भने बिहीबार काठमाडौँको एनआरटीलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । फाइनल प्रवेशका लागि हुने यी दुई टोलीबीचको भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

दुबै टोलीमा चर्चित राष्ट्रिय खेलाडी छन् । आर्मीका लागि कप्तान भरत खवाससँगै चर्चित स्ट्राइकर नवयुग श्रेष्ठ, लगायतका खेलाडी मैदानमा देखिनेछन् । मनाङमा निराजन मल्ल, सुशील लामा, विदेशी खेलाडी ओलावाले, विशाल राईलगायतका खेलाडी हेर्न लायकका हुनेछन् । बिहीबार सम्पन्न एनआरटीविरुद्धको खेलमा मनाङले ६ जना राष्ट्रिय खेलाडी मैदान उतारेको थियो ।

एक विदेशीसहित १० टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले नगद सात लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले नगद तीन लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।