Thursday 7th May 2026

    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड

विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम

Thursday, May 7, 2026 National Power

काठमाडौं – म्युजिक भिडियो कलाकार सङ्घ को आयोजनामा वार्षिक क्यालेन्डर तथा भित्तेपात्रो विमोचन, विशिष्ट तथा वरिष्ठ कलाकारहरूलाई मानार्थ सदस्यता परिचयपत्र वितरण तथा सङ्घका मनोनित सल्लाहकारहरूलाई नियुक्तिपत्र प्रदान गर्ने कार्यक्रम अनामनगरस्थित सिलेटो कटेज मा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा वरिष्ठ सङ्गीतकर्मी शम्भु राई को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सभापतित्व सङ्घका कार्यवाहक अध्यक्ष सुनील लामिछाने ले गर्नुभएको थियो।

कार्यक्रममा दुर्गा राईमाझी, नारायण राईमाझी, प्रस्तोता समाजका अध्यक्ष नरहरि प्रेमी, चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामी, रोयल्टी सङ्कलन समाजका उपाध्यक्ष पी एन सापकोटा लगायत विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै सङ्घका सल्लाहकारहरू बाबुराज केसी उज्ज्वल, हरी डाँगी, देवेन्द्र बजगाईँ, शेषकान्त पुरी, घनश्याम आचार्य तथा शिवन पोखरेल लगायत अतिथिहरूको पनि उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा म्युजिक भिडियो क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका विशिष्ट कलाकारहरू राजेश हमाल, भुवन केसी तथा धिरेन शाक्य लाई “विशिष्ट म्युजिक भिडियो कलाकार” को मानार्थ परिचयपत्र प्रदान गरिएको थियो।

त्यसैगरी म्युजिक भिडियो क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएका कलाकारहरू संस्थाकी संस्थापक अध्यक्ष अन्जु निरौला, निवर्तमान अध्यक्ष सम्झना बुढाथोकी, सुरबिर पण्डित, बिनोद श्रेष्ठ, सविन श्रेष्ठ, रञ्जन रिजाल, अशोक घिताल तथा लोकप्रिय कलाकार पल शाह लाई “वरिष्ठ म्युजिक भिडियो कलाकार” को मानार्थ परिचयपत्र प्रदान गरिएको सङ्घले जनाएको छ।

कार्यक्रमका संयोजक तथा सङ्घका महासचिव सनम कठायत ले म्युजिक भिडियो क्षेत्रलाई संस्थागत, व्यवस्थित र मर्यादित बनाउँदै कलाकारहरूको पेशागत सम्मान अभिवृद्धि गर्ने उद्देश्यले सम्मान कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। उहाँले वार्षिक क्यालेन्डरमा समावेश गरिएका योजनाबद्ध कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण कलाकार, स्रष्टा तथा शुभेच्छुकहरूको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा नेपाली कलाकारिता क्षेत्रका उल्लेखनीय व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। वक्ताहरूले कार्यक्रमको उद्देश्य अत्यन्तै अर्थपूर्ण रहेको उल्लेख गर्दै यही उद्देश्यअनुसार संस्था अघि बढे कलाकारहरूको हकहित, पेशागत सुरक्षा तथा सम्मानका लागि बलियो संस्थाका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए। साथै म्युजिक भिडियो कलाकार सङ्घ ले कलाकारद्वय दुर्गा भट्ट र निरुता कुँवर बिष्ट लाई आर्थिक सहयोग समेत प्रदान गरेको जनाएको छ।