
काठमाडौं – भाषा, साहित्य, कला र संस्कृतिका सर्जकलाई सम्मान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को छैटौं संस्करणका लागि आवेदन आह्वान गरिएको छ। ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नारासहित अवार्डको नयाँ संस्करण भव्य रूपमा आयोजना हुने तयारी गरिएको आयोजकले जनाएको छ।
आयोजक संस्थाले जारी गरेको विज्ञप्तिअनुसार अवार्डका लागि वैशाख २१ गते सोमबारदेखि आवेदन फारम खुला गरिएको हो। अवार्ड संयोजक गीता अधिकारीका अनुसार राष्ट्रिय भावका गीतसँगै पप, लोकदोहोरी, आधुनिक, बालगीत, डायस्पोरा तथा रिमिक्स विधालाई समेटेर अवार्ड प्रदान गरिनेछ।
अवार्डका अध्यक्ष गणेश सुवेदीले दिएको जानकारीअनुसार २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म ९एक वर्षभित्र० सार्वजनिक भएका गीत–संगीतका स्रष्टा तथा प्राविधिकलाई विभिन्न विधामा सम्मान गरिनेछ। आवेदन दर्ताको अन्तिम म्याद जेठ १५ गतेसम्म तोकिएको छ।
अवार्ड समारोहमा नेपाली गीतसंगीत क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका एक विशिष्ट व्यक्तित्वलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गरिनेछ। साथै, देश तथा विदेशमा रहेर नेपाली संगीत क्षेत्रमा उल्लेखनीय योगदान दिएका संगीतकर्मी तथा सञ्चारकर्मी पत्रकारलाई समेत विशेष सम्मान गरिने आयोजकले जनाएको छ।
यसअघि काठमाडौंसँगै थाइल्याण्ड, सिंगापुर र मलेसियामा सफलतापूर्वक सम्पन्न भइसकेको यो अवार्डको छैटौं संस्करणलाई अझ विशेष र भव्य बनाउने तयारी भइरहेको संयोजक गीता अधिकारीले बताउनुभयो।