Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

पत्रकार गौतमको “प्रवासका फुलहरु” बेल्जियममा विमोचन

Tuesday, October 8, 2024 National Power

बेल्जियम- नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाका अध्यक्ष मणिराज गौतमको कृति “प्रवासका फुलहरु” को आइतबार बेल्जियममा बिमोचन गरिएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको विमोचन समारोहमा बेनेलक्सका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले गौतमको कृति विमोचन गर्नु भएको हो ।

पुस्तक विमोचन गर्नुहुँदै राजदूत राजभण्डारीले बिदेशमा बस्ने नेपालीहरुका अनुभवलाई देशका नीति निर्माताहरुले बुझ्न सकेमा देश विकासमा ठुलो सहयोग पुग्ने बताउनु भयो । पुस्तक युरोपका नेपालीहरुको दस्ताबेजको रुपमा रहने भएकाले पनि ईतिहास बन्ने उहाँको धारणा रहेको थियो । पुस्तक मार्फत विदेशमा रहने नेपालीहरुको प्रतिनिधि भोगाई अनि सत्य कथाबाट युवा पुस्तालाई सकारात्मक उर्जा प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । राजदूत राजभण्डारीले प्रवास बसाइका अनुभव, संघर्ष र सफलताका साथै नेपाली भाषा, कला, साहित्य, संस्कृति र नेपाली मौलिक पहिचानलाई उनिहरुले कसरी विश्व सामु फैलाइरहेका छन् भन्ने विषय लिपिबद्ध गरी पुस्तक तयार भएको राजभण्डारीले बताउनुभयो ।

लेखक गौतमले मुलुक बाहिर रहेका मुलुकका असल छोराछोरीका जीवन्त कथा लेखिएको बताउनु भयो । करिब डेढ वर्षको अन्तरालमा पुस्तक तयार गरेर विदेशी भूमिमा विमोचन गर्ने अवसर पाएकोमा अनेसासप्रति आभार व्यक्त गर्नुभयो । पुस्तकमा युरोपमा रहेका ३९ जना नेपालीहरुको बाल्यकाल, शैक्षिक अवस्था, राजनीति, परिवारिक अवस्था, बैदेशिक संघर्ष लगायतका वास्तविक कथा समावेश गरिएको गौतमले बताउनु भएको छ ।

एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाले विदेशमा रहेका नेपालीहरुले धेरै चुनौतिका बीचमा पनि नेपाली पहिचानलाई निरन्तरता दिने र यसको प्रचार प्रसारका लागि लेखक गौतमले उदाहरणीय काम गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले सुन्दर भविष्यको कल्पना गरेर देश छाडेर युरोप पुगेका नेपालीहरुका सत्य कथाहरु संकलन गरेकोमा पत्रकार गौतमप्रति आभार प्रकट गर्नु भयो । आफ्नो जनभूमि छाडेर फरक भुगोल, संस्कार र संस्कृतिमा आफुलाई स्थापित गर्न नेपालीहरुले युरोपमा गरेका संघर्षका कथाहरु प्रेरणादायी बन्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष डिल्ली अमाईले पुस्तक माथि टिप्पणी गर्नुहुँदै यसले युरोप भित्रका अधिकतम देशका विभिन्न पेशा वा सेवामा कार्यरत नेपाली प्रतिनिधिहरुसँग प्रत्यक्ष संवाद गरेर पुस्तक प्रकाशन गरेकोमा पत्रकार गौतमलाई धन्यवाद दिनुभयो । पुस्तक अभिलेखका रुपमा रहने भएकाले यसको महत्व उच्चतम हुने उहाँले बताउनु भयो । कार्यक्रममा अनेसास बेल्जियमका महासचिब गोपाल दाहालले पुस्तक माथि टिप्पणी गर्दै निकै संघर्ष गरेर तयार गरिएको पुस्तकले आम नेपालीको कथा बोल्ने बताउनु भयो ।

यस्तै अनेसास बेल्जियम अध्यक्ष सौरभ कारन्जितले प्रवासका नेपालीहरुको संघर्षको अन्तरकथा तयार पारी विमोचनका लागि अनेसासलाई अवसर दिनुभएकोमा धन्यवाद दिनु भयो । युरोपमा नेपालीहरुका दिव्य आशा, उन्मुक्त मनोभाव, उत्तेजना, सफलता–असफलताका कथा र संकल्पहरु समावेश गरिएको प्रवासका फुलहरु पुस्तक कलात्मक कृतिका रुपमा रहने बताउनु भयो ।

कार्यक्रममा एनआरएनए आइसीसी सदस्य मदन दवाडी, हरी भट्टराई, उपाध्यक्ष कासी दनै, ओेएनएफ बेल्जियमका अध्यक्ष बिनोद न्यौपाने, जनसम्पर्क समिति बेल्जियमका उपसभापति बिराट जोशी लगायतले कृति सफलताको शुभकामना ब्यक्त गर्नु भयो । पुस्तकमा लेखक संघ केन्द्रीय सदस्य हयग्रीव आचार्यको भाषा सम्पादन, कवि लेखक संप्रस पौडेलको कथा सम्पादन, श्रीराम दहाल र बिना देबकोटाको श्रुति लेखन रहेको छ भने पुस्तकको प्रकाशन, लेआउट डिजाइन आकृति क्रियशनका राम अबिकास र वितरकमा किताब घर हेटौंडाका छवि अनित्य रहनुभएको छ ।