Thursday 11th July 2024

    चलचित्र कलाकार संघ र महर्षि वैदिक फाउण्डेसनको ध्यान एवं योगासनको अभ्यास कार्यक्रम सम्पन्न    Writers Corner Nepal welcomed the esteemed Indian poet Dr. Bhawani Shankar    नेपाली कांग्रेस जन सम्पर्क समिति अल कासिमको सभापतिमा टिकाराम तामाङ चयन    Esteemed Indian poet Nil including 16 Nepali poets recited the poem    कार्कीको नेतृत्वको फान यूएसए च्याप्टरलाई कलाकार संघको आधिकारिता

एक पटक पुग्नै पर्ने स्थान दोलखा शैलुङ

Tuesday, April 16, 2024 National Power

काठमाण्डौ – राष्ट्रिय समावेशी अवार्डको रुपमा परिचित अवार्ड हो निम अवार्ड । देश भरिको भाषा भाषिहरुका श्रृजनाहरुलाई विशेष महत्व दिएर आयोजना हुदै आएको निम अवार्डको आफ्नै विशेषता रहेको छ । कलाकार तथा श्र्रष्टा सर्जकहरुले पनि एउटा महोत्सवको रुपमा प्रत्यक वर्ष मनाउदै आएका छन् यस लाई । म र मेरो श्रीमान चलचित्र निर्देशक माधव राज खरेल यसैको सातौं संस्करणमा हामी जुटेका थियौं । हामीलाई भन्ने हो भने साच्चिकै पानी खाने समय पनि थिएन । किन भने आयोजना गर्ने जमर्को हामीले नै गर्दै आएका छौं । यस वर्ष सातौंको तयारीमा थियौं । त्यतिकैमा फोन आउँछ फोन थियो प्रबिन थपलियाको । ल गुरुवा र गुरुआमा २३ गते विहानै ६ बजे तयारी अवस्थामा रहनु हामी लिन आउँछौं । कार्यक्रमको चटारोमा त्यति साह्रै उत्साहित भएनौ किन भने कहाँ लिने के के गर्ने कुनै सेड्युल भन्नु भएको थिएन बस शैलुङ जाने हो भन्नु भएको थियो ।
प्रविन हामीलाई असाध्यै माया गर्ने मान्छे, उहाा पेशाले कलाकार मिडियाकर्मी । मिडिया र कलाकारिता क्षेत्र भनेपछि हुरुक्कै हुने मान्छे । पहिले देखिनै गुरु भनेर हरेक वर्ष गुरु पुर्णिमामा जहाँसुकै रहे पनि आईपुग्नु हुन्छ तर उहाँहरु गुरु चेला कसरी भए भन्ने ठ्याक्कै मैले पनि खोतालेकी छैन तर निक्कै पुरानो सम्बन्ध छ उहाँहरुको, किन भने पहिलेका किस्साहरु सुन्दा उहाँहरुको सम्बन्धको जरा निक्कै बलियो देखिन्छ जे होस हस भनेर राखी दियौं र आफ्नै धुनमा अझ व्यस्त भयौ । २२ गतेको कार्यक्रम जसो तसो आफ्नो क्षमताले भ्याए सम्म राम्रै गर्ने कोसीस गरियो अव सयौं जनाको चित्त बुझाउन त कहाँ सकिन्छ जे होस अग्रजहरु गुरु मान्यजनहरुले सबैले तारिफ नै गरे निम अवार्डको ।

सबैकाम सकेर अतिथिजनहरुलाई बिदाई गरेर केही साथीहरु संग अवार्डको समिक्षा गरेर हामी राती करिव १२ बजे घर पुग्यौ र मिठो निन्द्रामा सुत्यौं । बिहान पाँच बजेको छ । प्रबिन सरले लिन आउने कुरो छ । छिटो तयार हुनु पर्यो भनेर हामी हत्तार न हत्तार उठेर तयारी भयौ र प्रबिन सरलाई फोन लगायौ सरले ठिक सात बजे आउने भन्नु भयो । हामी अव ६ बजे तयारी अवस्थामा बसेको मान्छे यसो अफिस तिर लाग्नु पर्यो बत्ति निभाएका छौ कि छैनौ सबै हेर्नु पर्यो सानो जरुरी काम थियो त्यो पनि गर्नु पर्यो भनेर अफिस जाने निधो गर्दै प्रबिन सरलाई त्यतै बाट भएर आउन आग्रह गर्यौ । हामी डिल्लीबजारमा आफुले गर्नुपर्ने काम सक्नै लागेका थियौ त्यतिकैमा प्रबिन सर अफिस फुग्नु भयो र छिटो हिड्न आग्रह गर्नु भयो । हामी सबै काम सकेर अव गाडीमा बस्यौं स्कारपियो रहेछ । हाम्रो लगिनै भनेर सरले छुट्टै व्यवस्था गरेको रे । हामी गाडीमा बस्यौ तर सर मोटर साईकलमा अनाम नगर आउने हजुरहरुलाई त्यहि भेट्ने कुरा गरेर उहाँ जानु भयो । हामी पनि गाडीमा चढ्यौं ।

हिजो अस्ति देखीको थकान र तनावले थकित भएका हामी अब आफुलाई विल्कुलै तनाव मुक्त बनाउने कोसीसमा मा रह्यौं । चालकले हामीलाई अनाम नगरको गोर्खाएफएम चोकमा लगेर रोक्यो । यहाँ अरु कसलाई हाल्नु छ भनेर जिज्ञासु भएर सोध्यौं । प्रविन सरले भन्नुभयो अव यहाँबाट यो गाडीमा हजुरहरु बाहेक अन्य पाँच जना जानु हुन्छ । पाँच जना ? को को ? सरले भन्नु भयो बरिष्ठ साहित्यकार राधेश्याम लेकाली, बरिष्ठ अभिनेता मदनदास श्रेष्ठ, सम्पादक बिनोद बम, म्युजिक भिडियो निर्देशक पुजा ठकुरी पनि हाम्रो साथमै जादै हुनुहुदो रहेछ । एक्लै भनेको त उहाँहरु सहित हामी अव सात जना भईसकेका थियौँ । हामो जम्बो टोली अव शैलुङको यात्रामा निस्कने रे भन्दै विस्तारै उत्सुकता जाग्न थालेको थियो । गोर्खा एफएम चोकमा सबै जना जम्मा भयौं । प्रविन सरले सामाजिक विकास भवनको भित्र लगेर खादामाला सहितको भव्य विदाई गर्नु भयो र सुभयात्रा भन्दै विदाई गर्नु भयो तर उहाँ पनि जानु हुन्छ भनेर खुशी भएको मन एक छिनमै खिन्न भयो । किन भने उहाँको छुट्टी मिलेको थिएन रे । उहाँ जान पाउनु हुन्न रे तर पनि उहाँले आफुले गर्नु पर्ने सबै प्रकृया पुरा गरेर शैलुङमा घुम्न बस्न स्वागत सत्कार सबैको व्यवस्था काठमाण्डौ मै बसेर भए पनि मिलाई सक्नु भएको थियो ।

हामी अनामनगरबाट प्रस्तान भयौं । गाडीमा जडिबुटी सम्म हाम्रो साथमा चर्चित संगीतकार÷गायक नरहरी प्रेमी पनि सवार हुनु हन्थ्यो । जडिबुटी पुगेर उहाँहरुको टिमलाई गाडीमा जाने ब्यबस्था मिलाएको रहेछ । त्यस पछि हामी सात जना अगाडी बढ्यौं । बिहानैको चिसो हावा र नयाँ ठाउँ घुम्ने मनभरिका उत्सुकताका थुङ्गाहरु अव शैलुङको थुङ्गामै पुगेर समापन हुने भए ।

अझ अर्को उत्सुकता के भयो भने बनेपा नालाको बाटो भएर पाँचखाल जाने बाटो पनि रहेछ । आफ्नो लागि झनै नयाँ लाग्यो विहानको ९ बजेको थियो हामी रविओपी भन्ने ठाउमा एउटा डाँडामा पुगेर चिया विस्कुट खायौं । बाटो लामो छ । खाना खान मुढेमै पुग्नु पर्छ भन्दै मदनदास दाईले सबैलाई चिया विस्कुट चनाहरु खान भन्नु भयो । आफु भने चिया नखाने मान्छे कुरकुरे र झोल तरकारी खाँए । जे होस यात्रामा रमाईलो गर्ने मान्छे भयो भने यात्रा साह्रै अविस्मरणीय हुदो रहेछ । साथमा भएका अग्रज दाइहरु पनि रमाईलो हुनुहदो रहेछ । राधेश्याम दाई अझै साहित्यकार पनि उहाँहरुको अगाडी बोल्नु त इन्द्रको अगाडी स्वर्गको बयान झै होला तर पनि कोसीस त सबैले गर्न पायो नी होइन र ? गाडीमा बसेपछि मलाई भने झोलीलो अमिलो अलि खाई राख्नु पर्ने झोल तरकारी खाएपछि एकै पटक खाडीचौरमा पुगेर पो निन्द्रा खुल्छ त । अचम्म हत्तेरी भन्दै जुररुक्कै उठे म । म त नयाँ ठाउ घुम्न पो आएको त यसरी सुते भने त सबै कुरा मिस गर्छु । त्यसैले अब सुत्नु हुदैन । अव यी प्राकृतिक छटाहरुलाई आखामा नियालेर आनन्द लिनु पर्छ भन्दै सबै तिरका दृश्यहरु नियाल्दै गए ।

मुढे बजार पर्न चै सिन्धुपाल्चोकमै पर्दो रहेछ । मैले त दोलखाकै होला भन्ठानेको । मुढेमा पुगेर गाडी रोकियो । मदनदास दाईले सबैलाई खाना खान भन्नु भयो । सबैजनाले मटनखाना खाने भने पछि होटेलको दिदिले सबैलाई मटन खाना पस्किन । मुढेको खाना निक्कै मिठो, चामल काठमाण्डै अथवा तराई बाटै गएको भए पनि खाना चै मिठो थियो किन भने पहाडको सुद्ध हावा पानीले पनि फरक पारेका हुनपर्छ खानालाई । खाना खाएपछि हामी मुढेबाट अगाडी बढ्यौं । शैलुुङ क्षेत्र पुुग्न काठमाडाँैंबाट मुडेसम्म पुुगेपछि चरिकोटतर्फका लागि दायाँबाट बाघखोरतर्फ जानुपार्दे रहेछ । लामोसाँघुु जिरी सडक खण्डअन्तर्गत तामाकोसी बजार हुँदै चर्णावतिधाम पुगेर फस्कुु हुँदै पनि शैलुङ डाँडामा पुुग्न सकिन्छ रे । त्यस्तै रामेछापको दोरम्बाबाट शैलुङ पुग्ने अर्को बाटो छ रे । सबैभन्दा सजिलो र सहज यात्रा भने काठमाडौँबाट दोलखा जाने बाटोमा पर्ने मुढेबाट चरिकोट जाने सडक छोडेर दायाँको सडक भएर जान सकिदोरहेछ । करिब एक सय ३० किलोमिटर सडक पार गरेपछि शैलङको सय थुम्का पुुग्न सकिनेरहेछ । हामी दाँयातर्फको बाटो लाग्यौं । बाटोमा फुलेका विभिन्न जातका फुलहरुले शोभायमान त छदै थियो त्यसैमाथी लालिगुराँस ढकमक्क फुलेर बनै रातो भएको दृश्यहरुलाई आँखा भरि नियाल्दै अगाडी बढदै गयौं ।

सायद त्यो बेला मेरो जति खुशी कोही भएको थिएन होला, किन भने फुल भने पछि मलाई अत्तिनै मन पर्ने, त्यसै माथी लाली गराँस । यत्ति धेरै उत्सुक भए कि खुशीले फुल फुलेको बन हेर्दा हेर्दा आँखा भरि भएर आए । धररर आँशु झरे, यत्ति खुशी पनि भईदो रहेछ । मलाई एकै पटक म स्वर्गमै आएको जस्तो अनुभव भयो । जहाँ कुनै तनाव चिन्ताहरुले मुक्त भएको थिए । मलाई केही याद थिएन, थियो त केवल बन भरिको रमाईलो दृश्य र कानमै छोएर जाने चिसो हावा जसको आफ्नै सुरिलो धुन थियो । त्यो धुन कसै मान्छेले बनाएको थिएन । त्यो धुन प्राकृतिक थियो । प्रकृतिलाई मन नपराउने त विरलै होला तर मलाई लाग्यो मेरो जस्तो मन पराउने मान्छे त यो संसारमै छैन होला । प्रकृति र जिवन जन्तुुहरुलाई सबै भन्दा मन पराउने मान्छु हुँ म ।

डाँडाकाँडा प्राकृतिक दृश्यहरु नियाल्दै नियाल्दै अगाडी बढ्दै थियौं । त्यसै विचमा राधे श्याम दाइ देखाउनु हुन्छ हामी उ त्यो थुम्कोमा पुग्ने छौं । त्यही हो शैलुङ । मनमा उत्सुकताका छालहरु छचल्कि रहेका छन् । कति खेर शैलुङको थुम्काहरुमा पुगिएला भनेर । तर पनि अगाडी बढ्दै छौं । बेलुकी को झण्डै झण्डै साढे चार बज्दै थियो होला हामी शैलुङको काला पानी भन्ने स्थानमा पुग्यौं जुन शैलुङको प्रवेश द्धारा थियो त्यो भन्दा माथी गाडी जादैन रहेछ र बस्ती पनि त्यति सम्मकै मात्र रहेछ ।

कालापानी नाम त लिम्पियाधुराको कालापानी संग मिल्दोरहेछ । तर त्यस ठाउमा कालो पानीका पाँच ओटा कुवाहरु रहेको र ति कुवाहरुको पानी कालो भएकै कारण त्यस ठाउलाई कालापनी भनिएको रहेछ । तर विडम्बना हाल ति कुवाहरुको नाममा बाटोको भित्तामा एउटा मात्रै कुवा बाँकी रहेछ । सडक विस्तारको क्रममा ति कुवाहरु मास्सिएर गएछन् । कालो पानी भएको एउटा कुवा भने अझै बाँकी रहेछ । काला पानीमा सडक पुगिसकेको छ । विस्तारै पाहुनाहरुको लागि भनेर केही होटेलहरु पनि सञ्चालनमा आएका रहेछन् । धेरै भने छैनन् अहिले सम्म चार पाँच ओटा होटेलहरु मात्रै सञ्चालनमा छन् भने केही बन्ने क्रममा रहेका छन् । धेरैको संख्यामा पाहुना आए भने अझै पनि कठिन अवस्था रहेको छ । तर पनि पाहुनाहरुको स्वागत सत्कारको लागि कालापानी बासीहरु हरपल तत्पर भएर लाग्ने गरेका दृृश्यहरुलाई आफ्नै आँखाले देख्नु पर्दा खुशीले मन साह्रै गदगद भएर आएको थियो । जे होस उनिहरु कठिन भन्दा पनि कठिन अवस्थामा पनि पाहुनाहरुको स्वागतमा लागि रहेका छन् । होटेलहरु पनि तिब्र गतिमा निर्माण भईरहेका छन् ।

विकासको गतिले विस्तारै फड्को मार्दै गईरहेको छ । हामी कालापानी पुगेर पाँच मिनेट जति ओरालो झर्यौ त्यहाँ प्रबिनसर को दाजु रुद्र थपलियाको घरमा पुजा पनि रहेछ । हामीलाई सबै भन्दा पहिले पुजा घरमा गएर प्रशाद ग्रहण गर्न आग्रह गरियो पुजा जस्तो कुरामा नाई भन्ने त कुरै थिएर हामी सिधै रुद्रको घर लाग्र्यौ । घर भरि मान्छे थिए । आगनीमा सत्यनारायणको पुजा चलिरहेको थियो । रुद्र उहाँको श्रीमती, छोरा र छोरी सबै पुजामा थिए । हामीहरु आएको चाल पाएर हतार हतारमा तल आई हामीहरुलाई डाकेर माथी लगी फुलमाला ले स्वागत सत्कार गर्दै बस्न आग्रह गरे । उहाँहरुको त्यो सत्कारले लाग्यो हामी कुनै अर्को लोक बाटै झरेका देउतानै हौं । हैन भने यत्ति श्रद्धा पुर्वकको सत्कार हुन्छ र अहिलेको जमानामा पनि ?

प्रकृतिका पुजारी भएर प्रकृतिको मध्यभागमा बसेको उहाँहरुले हरेक कुराको महत्वलाई उत्तिकै आदर पुर्वक लिदा रहेछन् । उहाँहरुको पुजा चलिरहेको थियो । हामीहरु घर वर पर यता उति हेर्न थाल्यौ । कहाँ के छ भनेर । एउटा चोरले खोताले झै हामी वरिपरिको दृश्यलाई खोताली रहेका थियौं । वरिपरि लालिगराँस फुलेर ढकमक्क भईरहेको थियो । गाउले दिदि बिहिनीहरु गराँसको फुलहरु अँगालो भरि बोकी ल्यादै थिए । किन रहेछ छ भने पाहुनाहरुलाई गराँसको माला लगाउने चलन रहेछ । ति अँगालोमा ल्याउने गराँसको फुलको मालाहरु हाम्रैलागी रहेछन् । सबै दिदि बिहिनिहरु जम्मा भएर माला उन्नमा व्यस्त देखिन्थे । पञ्चेवाजाले घर नै झम झम नाचीरहेको थियो । सबैको मन प्रफुल्लित थियो । बेलुका झण्डै ६ बजेको थियो । पुजा सकियो सबैलाई प्रसाद खुवाउने कुरा चल्यो । हामीहरुलाई चोटामा बसालेर लस्करै टिका माला लगाउने र प्रसाद खुवाउने काममा थपलिया परिवार जुट्यो । हामीले प्रसाद ग्रहण गरेर सुत्नको लागि माथी कालापानी मै होटेलको व्यवस्था गरेको रहेछ ।
खाएर हामीहरु काला पानीको लागि निस्क्यौं । कालकापानीका होटेलहरु भरिभराउ थिए । विद्याथीहरु बस नै रिजर्व गरेर भ्रमणमा आएका रहेछन् । पद्यमकन्या कलेज डिल्ली बजारका प्रोफेसरहरु पनि गाडी नै रिजर्व गरेर आउनु भएको रहेछ । जे होस कालापनीमा एक किसिमको रमाईलो देख्न पाईरहेका थियौं । सबैले होटेलका बाहिर वार्बिक्यु गर्ने भन्दै आगो बालेर तयारी गर्दै थिय कोही नाच्दै थिए त कोही गाउँदै थिए । तर हामीहरु भने थकित मुन्द्रामा पनि थियौं, त्यसैले सुत्न भनेर आ–आफ्नो रुममा छ्र्यिौ । तर राधेश्याम दाइ हामीहरुलाई बोलाई राख्नु भएको थियो । उहाँहरुले त प्रोफेसरहरु संग रात भरि नाचगान गर्दै रमाईलो गर्नु भयो रे । मिस त साहै्र गरियो तर थकित भएपछि कसको के लाग्यो र एक छिनमा जाउँला भनेर यसो अच्छ्यानमा के पल्टेका थियौं हामी त सुते छौं ।

भोली पल्ट बिहानै ७ बजे नै शैलुङ जानु पर्छ, ६ बजे तल रुद्रको घरमा झरिसक्नु पर्छ, त्यतैबाट विदाई गरिन्छ भन्ने कुरा थियो । विहानै पाँच बजे नै उठ्र्यौ । फ्रेस भएर बाहिर हेर्न निस्केको त ठिक्क सुर्यको आगमन भईरहेको रहेछ । गौरीशंकर हिमालको चेचुरोलाई दुईभागमा पार्दै विचबाट लालि किरण छरिरहेको विहानीको सुर्य साह्रै मनमोहक देखिन्थ्यो । सुर्यको दर्शन गरेर हामी रुद्रको घर जाने तयारीमा थियौं । त्यत्तिकैमा मदनदासदाईले आफु नजाने तपाईहरु गएर आउनु भन्नु भयो । हामीहरु रुद्रको घर तिर लाग्यो । रुद्रको घर जहाँ महिलाहरु सजिएर रमाईलो मेला हेर्न आए झै जम्मा भएका थिए । सत्यनारायणको प्रसाद सहितको समानले भरिएको डोली फुलहरुले सजिसजाउ भएको थियो । पञ्चेबाजाहरुले गाउनै थर्कमान भईरहेको थियो । बालबालिकाहरु उ भन्दा उ राम्री भएर अघि पछि गरिरहेका थिए । त्यसै बेला हामी गाडीमा त्यहाँ पुग्यौं । हामी पुग्ने वित्तिकै भित्तामा ब्यानर टाँसेको थियो । शैलुङ साँस्कृतिक महोत्सव र त्यसको सम्पुर्ण कर्ता थिई रञ्जना थपलिया । उहाँकै निमन्त्रणामा हामी शैलुङ पुगेका रहेछौं ।

रञ्जना रुद्रको छोरी, उमेर हेर्दा त्यस्तै १५, १६ कि होलीन तर नृत्यमा एक दममै सिपालु छिन । नृत्याँगनाको रुपमा उनि चिर्चित छिन् । उनले नै शैलुङको पर्यटन प्रवद्र्धनको लागि यो सबै प्रपञ्च मिलाएकि रहि छिन् । जे होस उनको अगुवाइमा यो कार्यक्रम हुदै रहेछ । हामीलाई फुलमाला खादा र टिका लगाएर अगाडी अगाडी सत्यनारायणको डोली पछि पछि हामी लगाएर गाउँलेहरु पञ्चेवाजा सहित शैलुङ प्रस्थान गर्यौ । फलाम देवीको मन्दिर अलि ओरालोमा थियो । फलाम देवी मन्दिर परिक्रमा गरेर जुरे महादेवको मन्दिरमा गएर सत्यनारायणको प्रसाद सेलाउने र त्यहि नाचगान सहितको कार्यक्रम गर्ने कार्यक्रम रहेछ । तर हामी भने पहिले शैलुङ घुम्ने र बेलुका उहाँहरुको साँस्कृतिक कार्यक्रममा भाग लिने भनेर अघि अघि लाग्यौं । कालापानी बाट पाँच मिनेट हिडे पछि चाईनाको ग्रटवालकै झल्को दिने ढुुङ्गाको सिँढीसहितको पर्खाल बनाइएको छ ।
यो सिंढीबाट शैलुुङका थुम्कामा जान सहज हुने स्थानीयको भनाइ छ । सिँढी नहुँदा विगतमा पर्यटकले बाटो भुल्ने गरेका थिए । बाटो भुल्दा निकै कष्टकर यात्रा गर्नुपर्ने बाध्यता थियो । तर अहिले त्यो बाध्यता छैन । शैलुङ ‘सय थुम्का’ देशकै रमणीय पर्यटकीयस्थलका रूपमा परिचित छ । समुन्द्री सतहबाट करिब तीन हजार चार सय मिटर उचाइमा अवस्थित ‘सय थुम्का’ जिल्लाको दक्षिण, पश्चिममा पर्छ । शैलुङ डाँडा प्रकृतिका हिसाबले मात्रै सुन्दर नभई धार्मिकस्थलका रूपमा पनि प्रसिद्ध छ । यहाँ जनैपूर्णिमा, बालाचतुर्दशी, बाह्रवर्षे मेलाजस्ता चाडपर्वमा दर्शनार्थीको भीड लाग्ने गर्दो रहेछ ।
शैलुङको डाँडामा एक सय आठ ओटा मनमोहक थुम्का छन् । प्रत्येक थुम्काबाट मनमोहक आकर्षक दृश्यहरु हेर्न सकिने रहेछ । आकाश खुलेको बेलात ति थुक्काहरुबाट गौरीशङ्कर, सगरमाथा, माछापुच्छे, गणेश हिमाल लगायतका हिमाल र काठमाडौँ उपत्यकासँगै तराईका केही भाग समेत देखिने रहेछन् । हामी पुगेको बेला भने गौरीशंकर लगायत केही हिमालहरु कुहिरोको विचविचमा देखिन्थे उत्ति राम्रो तरिकाले हिमालहरुको दृशयावलोकन गर्न भने असमर्थ रह्यौं । यहाँ १२ वर्षमा एकपटक खुल्ने शैलुङ्गेश्वर महादेवको मन्दिर, गोदावरीजस्ता धार्मिकरूपले चर्चित गुफा समेत छन् । तर ति गुफाहरुको बारेमा अध्ययन भईरहेको र निकट भविष्यमा ती गुफाहरुलाई विकास र विस्तार गरेर मेडिटेसनको रुपमा प्रयोगमा ल्याउन सकिने कुराहरु स्थानिय स्तरमा उठिरहेको र यस बारेमा पनि अध्ययन अगाडी बढेको एक स्थानियले बताएका थिए ।
ग्रटवालको सिडि चढेर अगाडी बढी रहेका छौं । जति जति अगाडी बढ्छौं त्यति त्यति उचाइमा पुग्छौं । उचाइको चिसो सिरेटोले कानमै आएर सुमसुम्याएर जान्छ । सुरिलो हावाले तनमन सबै तिर शान्त पारिरहेको छ । हामी बाटो बाटोमा क्यामेरा मार्फत ति दृश्यकहरु कैद गरिहेकाछौं । हाम्रो साथमा हिडेका विनोद सर र पुजा म्यामहरु अलि पछि छुटे हामी दुई जना र राधेश्याम दाई साथ साथै शैलुङको चुचुरो सम्मको यात्रामा छौं । राधेश्यामदाई साच्चिकै रसिलो मिजासको मान्छे उहाँ साह्रै प्रकृति प्रेमी हुनुहुदो रहेछ । उहाँले हामी दुबैजानालाई सच्चिकै शैलुङको यात्रालाई स्मरणिय बनाईदिनुभयो । शैलुङको बारेमा हामीलाई थाहा नभएको कुरा उहाँले जानकारी दिनुभयो उहाँ ईलामको मान्छे भएर पनि शैलुङलाई यति नजिकबाट चिन्न सक्नुभनेको एक प्रकृतिपे्रमी कवि साहित्यकारहरुले मात्रै गर्न सक्छन् होला जस्तो लाग्छ ।

जेहोस हामी बाटो भरिका शैलुङका विभिन्न साना साना थुम्काहरुलाई पार गर्दै सबै भन्दा ठुलो र अग्लो थुम्काको टुप्पोमा पुग्ने लक्षमा हिडिरहेका थियौं । विस्तारै हामी थुम्कोमा पुग्यौ । थुम्कोमा प्राचिन स्तुपाहरु थिए अचम्मका कलात्मक स्तुपाहरु र पछिल्लो समय बनाईएका गुम्मा, स्तुपा र टावर माथी बनाइएको बुद्धको मुर्ति निक्कै मनमोहक तथा सुन्दर देखिन्थ्यो । हामी टावर माथी चढेर बुद्धको दर्शन गर्यौ र वरिपरिवाट हिमाल पहाड तथा जंगलको प्रकृतिक दृश्यहरुलाई कैद गर्दै थुम्कोमा केही समय वितायौं । शैलुङको अर्को महत्वपूर्ण विशेषता भनेको यहाँको चौँरीको दूधका परिकार रहे छ । त्यहाँका प्रायः सबै स्थानीयले चौँरीपालन गर्दा रहेछन् । चौँरीको दूधबाट उनीहरूले मीठो छुर्पी, चिज उत्पादन गर्छन् । ती उत्पादन विभिन्न ठाउँमा लगेर बिक्री गरिन्छ । यहाँको चर्चित मुडेको आलु बिक्री केन्द्र मुढे भए पनि उत्पादित क्षेत्र शैलुुङ हो ।

स्थानीयले भेडाबाख्रा पाल्ने गरेका छन् । शैलुङमा व्यावसायिक तरकारीखेती गरिन्छ । लेकको चिसो हावापानीमा उत्पादित आलुु, काउली, बन्दा, केराउ, मटरकोसा बारीबाटै अग्र्यानिक कोसेलीका रुपमा आफन्तलाई तरकारी लैजाने चलन छ । घुम्न आउने पर्यटकले काउली र बन्दाको गुन्द्रुुक कोसेलीका रुपमा लैजाने गर्दारहेछन् । थुम्कोमा भेटिएका एक स्थानियले भनेका थिए उनिहरु पनि थुम्कोमा छुर्पि बेच्नको लागि छुर्पिको पसलनै थापेर बसिरहेका थिए । वरिपरी चौरी र भेडाबाख्राहरु चरिरहेको थुम्कोमा स्थानियहरु छुर्पि गुन्द्रक बेचिरहेका थिए । हामी त थुम्कोमा पुग्यौं अव उनिहरु पनि पुग्ने होलान भन्दै हामी थुम्कोमै गाउँलेहरुलाई कुरीरहेका थियौ । तर जव थुम्कोमा भेटिएका गायक नविन पौडेलले हामी सबैलाई तर बोलाई रहेका छन् कार्यक्रम तल जुरे महादेवको मन्दिरमा हुन्छ तल जाउ भने पछि हामी विस्तारै थुम्कोमा जम्मा भएका सबै जना ओरालो लाग्यौं ।

थुम्काको रमाईलो हेर्दै घुम्दै हामीहरु तल झर्यो । बाजागाजा सहितको टोली जुरे महादेवको मन्दिर जान लागेको बिचबाटोमा भेटिसके पछि हामी महादेवको मन्दिर तर्फ लाग्यौं । मदनदास दाई बाटो बाटै फर्किसक्नु भएको रहेछ । टोली संग उहाँलाई लिएर हिडेको रित्तो घोडा मात्रै थियो । उहाँ हिडेरै फर्कनु भयो रे । हुन त धेरै टाढा पुग्नु नै भएको थिएन । तर पनि उहाँलाई लिएर गएको रित्तो घोडामा चढेर फोटो खिचाउने र पञ्चेबाजाको तालमा नाचगान गर्ने जस्ता रमाईला कामहरु पनि शैलुङका थुम्काहरुमा गरियो । विस्तारै हामी छड्के लाग्यो । अव उकालो सकिएको थियो । विस्तारै चार पाँच ओटा थुम्काहरु पार गरिसकेपछि ओरालो जंगलको विचमा एउटा मन्दिर थियो जहाँ एउटा जुरेलीको जुरे जस्तो ढुङ्गा थियो । त्यसैले त्यसलाई जुरे ढुङ्गा भनिएको हुनु पर्छ ।

त्यहाँ पुगेर नाचगान गरे पछि साथमा रुद्रको घरबाट लिएको प्रसाद खायौँ । चिसो पानी जुस सबैको व्यवस्था गरिएको थियो । त्यत्रो जंगलको विचमा पनि अत्ति रमाईलो भएको थियो । त्यत्ति बेलामा मदनदास दाईले होटेलबाट फोन गर्नु भयो, होईन आज यतै बस्ने कुरा छ कि के हो ? हैन भने काठमाण्डौ फर्कन हतार भयो, चाँडो आउनुस भन्दै फोन गर्नु भयो । राधेश्याम दाई र हामी दुबै जना चाँडो चाँडो कार्यक्रम सुरु गरेर केही समय बसेर फर्कने निधो गर्यौ । रुद्रलाई हामीले आजै काठमाण्डौ फर्कनु पर्ने भएको ले हामी जाने भन्दै विदा भर्यौ । कार्यक्रम चल्दै थियो नाचगान हुदै थियो । हामी फर्केर होटेल पुर्यो, होटेलमा पुग्दा मदनदास दाई रिसाएर फाएर भई सक्नु भएको रहेछ । हामीहरुलाई ढिलो गर्यौ भनेर रिसाउदै हुनुहुन्थ्यो । त्यत्तिकैमा अझ पुजा र विनोद पनि नपुगेको रहेछन ।

उहाँहरुलाई फोन गरेर हतार हतारमा तिमिहरु पनि होटेल फर्क भनेका थियौं । उनिहरु कार्यक्रम स्थलमा आई पुगेका थिएनन् । उनिहरु दिन भर शैलुङ नै घुमि रहेका रहेछन् । जे होस शैलुङको प्रचार प्रशार हुनुथियो जसरी जसले अहाँबाट गरे पनि हुन्छ । केही गीतहरुको छायाँकन पनि गरेछन् अनि सायद उहाँहरु कार्यक्रम स्थल सम्म पुग्न ठिलो भएको हुनु पर्छ । उहाँहरु नपुगी सकेपछि तिमिहरु होटेल नै फर्क हामी अव काठमाण्डौ जानपुर्छ भनेर फोन गरेको मान्छे, हामी होटेल आइपुग्दा पनि उहाँहरु आई पुग्नु भएको थिएन । सायद उहाँहरु छायाँकन गर्दा गर्दै निक्कै टाढा पुगिसक्नु भएको हुनु पर्छ । हामी होटेल पुगेको पन्ध विस मिटेमा उहाँहरु आई पुग्नु भयो । जसरी घुम्न एक्साईटमेन्ट थियौं त्यहि हतारमा काठमाण्डौ फर्कनु पर्दा अझै केही छुटेको महसुस भने पक्कै भएको थियो नै तर पनि अर्को पटक शैलुङको काखमा अझै केही भलाकुसारी गर्ने आशामा हामी फक्र्यौ ।

शैलुङका सय थुम्कामा विभिन्न किसिमका खानी हुनसक्ने स्थानीयको अनुमान छ । तर हालसम्म कुनै अनुसन्धान र उत्खनन भएको छैन । त्यहाँ बहुमूल्य जङ्गली जडीबुटीहरु पाईनुका साथै आठ प्रकारका लालीगुराँसहरु पाइन्छन् भने ११ प्रकारका सुनाखरीहरु पाईन्छन् । त्यस्तै आलु पनि चार जातका फल्ने गरेको स्थानियले बताएका थिए् । खरी तामा लगायतका घातुहरु प्रसस्तै भएको शैलुङमा फलाम फोखरीका नामले प्रसिद्ध फलाम पोखरीमाइको मन्दिर पनि रहेको छ । एउटै चट्टानबाट बनेको फलाम फोखरीमाइको मन्दिर पनि त्यस क्षेत्रको अर्को विषेशता हो ।
रमणीय दृश्यहरु अवलोकन गर्न सकिने काठमाण्डौबाट नजिकैको पर्यटकिय नगरि दोलखा शैलुङको विकाश बिस्तारको लागि स्थानिय समाजसेवी शोभित उप्रेतकिो पहलमा अहिले पर्यकट प्रवद्र्धनको लागि विभिन्न कार्यक्रमहरु हुने गरेका छन् । शैलुङमा पर्यटन प्रवद्र्धन गर्नको लागि उप्रतीको साथमा रुद्र, रञ्जना, प्रविन लगायत थपलिया परिवार पनि उत्तिकै शसक्त रुपमा लागिरहेको छ । तर स्थानिय स्तरमा मात्रै गरेका प्रयासहरुले विकासको फड्को मार्न सकिदैन तसर्थ राज्यले पनि यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर योजना तर्जुमा गर्नै पर्ने देखिन्छ ।

कमला जोशी /सम्पादक: पावर न्युज राष्ट्रिय मासिक पत्रिका