Tuesday 3rd March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

बाँदरबाट जोगियो, मानिसबाट जोगाउन सकिएन

Saturday, February 22, 2020 National Power

काठमाडौं –  महाशिवरात्रिलाई विशेष बनाउन पशुपति क्षेत्र विकास कोषले लाखौं रकम खर्चेर पशुपतिनाथ मन्दिर र त्यस वरपरको क्षेत्रलाई फूलैफूलले सजायो । दिनभर मानिसहरु त्यही फूलको सजावट अगाडि उभिएर फोटो खिचे । रातभर पशुपतिमा तामझाम भयो । तर, भोलिपल्टै बिहान विरक्त लाग्दो दृष्य देखियो । किनभने सजाइएका फूलहरु गायब थिए । ‘यो सजावट बाँदरबाट कसरी जोगाउने होला भन्ने चिन्ता थियो,’ पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकाल भन्छन्, ‘बाँदर चढ्न सक्ने ठाउँको बरु सुरक्षित छ, मान्छेले भेट्न सक्ने ठाउँको फूल चोरी भएछ । विरक्त लाग्यो मलाई त ।’

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथलाई फूलैफूलले सजाउन झण्डै दुई करोड रुपैयाँ खर्च गरेको थियो । फूलहरु थाइल्याण्ड, अष्ट्रेलिया, भारतलगायतका देशबाट ल्याइएको थियो । केही फूल भने भारतले निःशुल्क सहयोग गरेको थियो । ती फूलहरुबाट पुशपतिनाथ मन्दिरको मुख्य प्रवेशद्वार नै फूलैफूलले बनाइएको छ, जसमा आकर्षक ढंगले ‘ओम नमः शिवाय’ लेखिएको छ । शिवलिंगदेखि शिवको बाहन साँढेसमेत फूलबाटै बनाइएको छ । ठाउँठाउँमा गमलाहरुमा पनि फूल राखिएको थियो । तर मानिसहरुले भुइँमा राखिएका गमलादेखि झुण्डाएर राखिएका फूलसमेत चोरी भएका छन् । बाँदरबाट जोगिए पनि मानिसबाट फूल नजोगिएकामा पशुपति क्षेत्र विकास कोषका अधिकारीहरु चिन्तित छन् ।

यस वर्षको महाशिवरात्रिमा १२ लाख बढी दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शनिबार बिहानैबाट पशुपतिनाथ क्षेत्र वरपर सरसफाइ थालिएको छ ।

काठमाडौंमा सजाइएका फूल चोरी भएको यो घटना पहिलो भने होइन । यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको बेला तीनकुनेको सडकमा सजाइएका फूल र दुबोसमेत चोरी भएको थियो । त्यसपछि सशस्त्र प्रहरीको उपत्यका बाहिनीले फूलको सुरक्षाका लागि टोली नै परिचालन गरेको थियो ।