Thursday 16th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

बढ्यो बौद्धिक चोरीको परीक्षण

Wednesday, February 2, 2022 National Power

काठमाडौँ- शोधपत्र, अनुसन्धानका प्रस्ताव तथा स्वदेशी एवं विदेशी जर्नलमा प्रकाशनका लागि तयार गरिएका सामग्रीमा अरूका सामग्री समावेश गरिएको छ कि छैन भनेर परीक्षण गर्ने क्रम बढेको छ । त्रिभुवन विश्वविद्यालयले त्यस्ता सामग्री सम्बन्धित डिन कार्यालय तथा विभागबाट स्वीकृत हुनुअघि अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था अनिवार्य गरेपछि यस्तो चलन बढेको हो । अर्काको बौद्धिक सम्पति चोरी गरेर आफ्नो कृति तयार पार्ने प्रवृत्ति बढेपछि त्रिविले नेपालमै पहिलो पटक ‘एन्टि प्लाजियारिजम चेकिङ सफ्टवेयर’ प्रयोगमा ल्याएको थियो । विश्वविद्यालयले सात महिनाअघि अमेरिकी कम्पनीबाट ३५ लाख रुपियाँमा यो सफ्टवेयर किनेको हो ।

यो सफ्टवेयर त्रिवि केन्द्रीय पुस्तकालय मातहत रहने गरी विश्वविद्यालयअन्तर्गतका अध्ययन संस्थान, डिन, अनुसन्धान केन्द्र, विभागलगायतमा कार्यालयबाट चलाउन सकिन्छ । विद्यार्थीको परीक्षा तथा अन्य शैक्षिक मूल्याङ्कन गर्ने जिम्मेवारी पाएका ती कार्यालयका प्राध्यापक तथा प्रमुखले यो सफ्टवयर चलाउन सक्छन् । सफ्टवेयर सञ्चालनका लागि त्रिविले छ हजार प्रयोगकर्ताको प्रयोग गर्न सक्ने गरी कम्प्युटरमा प्रवेश परिचयपत्र बनाएको छ ।

यस्ता व्यक्तिले आफू कार्यरत कार्यालयबाट आफूले स्वीकृत गर्नुपर्ने विद्यार्थी, शोधकर्ता तथा लेखकका सामग्री परीक्षण गर्न सक्छन् । सफ्टवेयरबाट हालसम्म दुई हजार पाँच सय कागजपत्र स्क्यान भइसकेको केन्द्रीय पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले जानकारी दिनुभयो ।

त्रिविले बनाएको मापदण्डअनुसार कुनै पनि सामग्रीको परिचय, पूर्वकार्य समीक्षा तथा अनुसन्धान पद्धतिको खण्डमा २५ प्रतिशतभन्दा कम तथा निष्कर्ष, सारांश तथा निष्कर्ष खण्डमा १० प्रतिशतभन्दा कम सामग्री अर्काकोसँग जुध्यो भने पनि सफ्टवेयरले स्वीकार गर्छ ।
तर, जस्तो प्रकारको सामग्री भए पनि कुल अंशको २० प्रतिशतभन्दा कम भएमा मात्रै स्वीकृत हुने त्रिविले जनाएको छ । यस सफ्टवेयरमा स्क्यान गरेर चोरी नभएको पुष्टि भएपछि सम्बन्धित कार्यालयले प्रमाणित गरिदिन्छ । सोही प्रमाणका आधारमा शोधार्थीले सम्बन्धित विभागमा आफ्नो अन्तवार्ता, परीक्षा वा अन्य प्रयोजनका लागि बुझाउने गरेका छन् ।

सम्बन्धित व्यक्तिले बुझाएको सामग्री यो सफ्टवेयर जडित कम्प्युटरमा राखेपछि चोरी भएको हो वा होइन भन्ने पुष्टि हुन्छ । त्रिविमा बुझाइसकेपछि कागजपत्र स्क्यान गर्दा चोरी गरिएको पुष्टि भयो भने समस्या हुने भएकाले शोधार्थी आफैँले स्क्यान मेसिनबाट परीक्षण गराउन थालेका हुन् ।

विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट प्राप्त उपाधिको समकक्षता लिनुअघि भने केन्द्रीय पुस्तकालयबाट परीक्षण गराउनुपर्छ । हालसम्म विदेशी विश्वविद्यालयबाट डिग्री हासिल गरेपछि त्रिविबाट समकक्षता लिने क्रममा १० वटा शोधपत्र चोरी भएको देखिएको र उक्त शोधपत्रलाई अस्वीकृत गरिएको पुस्तकालयले जनाएको छ ।

श्रेष्ठका अनुसार पहिलो चरणमा पीएचडी, एमफील, स्नातकोत्तर तह तथा विभिन्न अनुसन्धानात्मक जर्नलमा छापिने लेख रचना पनि यो सफ्टवेयरबाट परीक्षण गरिएको छ । स्नातकोत्तर तहअन्तर्गत भने तत्कालका लागि इन्जिनियरिङ, चिकित्सा शास्त्र तथा व्यवस्थापन सङ्कायमा मात्रै लागू गरिएको छ । बिस्तारै अन्य सङ्कायमा पनि लागू गर्ने तयारी भइरहेको श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित व्यक्तिले बुझाएको सामग्री सफ्टवेरबाट परीक्षण गरेपछि चोरी भएको हो वा होइन भन्ने पुष्टि हुन्छ । यसरी परीक्षण गराउन पीएचडीका लागि दुई हजार पाँच सय, एमफीलका लागि दुई हजार, स्नातकोत्तर तहका लागि एक हजार तथा अनुसन्धानात्मक जर्नलमा छापिने लेख रचना, प्रस्तावना लेखनलगायतका सामग्री परीक्षणमा पाँच सय रुपिया शुल्क तोकिएको छ । यो शुल्क एक पटकका लागि मात्रै हो । कतिपय व्यक्तिले एक पटक स्क्यानिङ गर्दा नक्कल गरेको पुष्टि भयो भने सच्याएर फेरि परीक्षण गर्न ल्याउने गरेका छन् ।