काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बस्नुभएको छ । सत्ता गठबन्धनका शीर्ष नेतामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि सञ्चारमन्त्री कार्की आइसोलेसनमा बस्नु भएको हो ।
सञ्चार मन्त्रालयका सहसचिव एवम् मन्त्रालयका प्रवक्ता विनोदप्रकाश सिंहका अनुसार कन्ट्याक ट्रेसिङमा पर्नु भएपछि मन्त्री कार्कीले आइतबारदेखि भेटघाट बन्द गर्नुभएको हो । ‘सत्ता गठबन्धनका शीर्ष नेतामा संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीसँगै उहाँ कन्ट्याक ट्रेसिङमा पर्नुभएको हो’, प्रवक्ता सिंहले भन्नुभयो, ‘पीसीआर रिपोर्ट नआएसम्मका लागि उहाँले भेटघाट बन्द गर्नुभएको छ ।’
सत्ता गठबन्धनका शीर्ष नेता संलग्न उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकमा सहभागी नेतामा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री र सञ्चारमन्त्री आइसोलेसनमा बस्नु भएको हो । बैठकमा सहभागी प्रधानमन्त्री शेरबहादुर देउवा र सञ्चारमन्त्री कार्की कन्ट्याक ट्रेसिङमा पर्नुभएको प्रवक्ता सिंहको भनाइ छ ।
प्रधानमन्त्री देउवा शनिबारदेखि नै आइसोलेसनमा हुनुहुन्छ । बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायतमा कोरोना पुष्टि भएपछि उक्त बैठकमा सहभागी नेता आइसोलेसनमा बस्नुभएको हो । पीसीआर परीक्षणपछि मन्त्री कार्कीले चिकित्सकको सल्लाह अनुसार काम गर्ने प्रवक्ता सिंहले बताउनुभयो । घट्दो क्रममा रहेको कोरोना संक्रमण पछिल्ला दिनमा बढ्दै गएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता श्रेष्ठसँगै नेताहरु हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ल, सुमन देवकोटा, सुबोध सेर्पाली, पञ्चा सिंह, प्रकाशचन्द्र पाण्डेमा कोरोना संक्रमण पुष्टि भएको छ । उहाँहरु सबैको स्वास्थ्य सामान्य रहेको छ ।