Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

आज हरिबोधनी एकादशीका, तुलसीसँग विष्णुको विवाह गरि मनाईदै, कालीगण्डकीमा भक्तजनको घुइँचो

Tuesday, October 31, 2017 National Power

१४ कात्तिक,पर्वत – कार्तिक शुक्ल एकादशीका दिन मंगलबार हरिबोधनी एकादशी मनाईंदैछ । हरिबोधनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिन्छ । असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधनी वा प्रबोधिनी एकादशी भन्ने गरिएको हो । हरिशयनीदेखि हरिबोधनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् ।

हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यो दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । आजै देशभरका नारायण स्थान र मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । तुलसीलाई औषधिको गुणले युक्त मानिन्छ ।

 

कालीगण्डकीमा भक्तजनको घुइँचो, मोदीवेणी दिव्यधाममा विशेष मेला

पर्वतका विभिन्न धार्मिकस्थलमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । पवित्र कालीगण्डकी नदीमा स्नान गर्न हजारौँको संख्यामा भक्तजनको भीड लागेको हो । मोदीखोला र कालीगण्डकी नदीको संगममा पर्ने पर्वतको मोदीवेणी धाम, जैमिनी घाट, एशियाकै ठूलो शालिग्राम शिला रहेको दक्षिण पर्वतको शालिग्रामस्थित सेतीवेणीमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ ।

स्नान गर्नका लागि पर्वतका साथै बागलुङ, स्याङ्जा, गुल्मी, पाल्पा र भैरहवाबाट ठूलो संख्यामा श्रद्धालु भक्तजन आएका छन् । उक्त स्थानमा मेलासमेत लागेको छ ।कालीगण्डकीमा स्नान गरी भगवान् विष्णुको अवतार मानिने शालिग्रामको पूजा गरेमा पुण्य प्राप्त हुने विश्वासमा भक्तजन निराहार व्रत बसी स्नान गर्ने चलन छ ।

हरिशयनी एकादशीदेखि चौमास व्रत बसेकाहरुले पनि आज कालीगण्डकी नदीका विभिन्न स्थानमा तोरण टाँग्ने प्रचलन रहेको छ । कालीगण्डकीमा तोरण टाँग्नका लागि विभिन्न जिल्लाबाट बाजागाजा र भजनकीर्तनसहित हजारौँ दर्शनार्थीको भीड लागेको मोदीवेणीधाम व्यवस्थापन समितिका सदस्य युवनाथ रेग्मीले जानकारी दिनुभयो ।

यसैबीच, पर्वतको सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणी दिव्यधाममा आज विशेष मेला लागेको छ । दिव्यधाममा रहेका १०८ तुलसीको विवाह गर्ने कालीगण्डकीको जलाभिषेक गर्ने कार्यक्रम रहेको दिव्यधाम व्यवस्थापन समितिका अध्यक्ष गोपालदाश बैरागीले जानकारी दिनुभयो ।