२२ असोज,नवलपरासी – मोफसलमा नै सर्वाधिक धनराशीको पुरस्कार भएको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता आगामी कात्तिक १० गतेबाट नवलपरासीमा शुरु हुने भएको छ ।
प्रतियोगितामा आयोजकसहित देश भरका ‘ए’ डिभिजनका १२ समूहको सहभागिता रहने छ । नवलपरासीको कोल्हुवामा गैँडा संरक्षणका लागि हुने यो प्रतियोगिता कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ ।
नन्द भाउजु उपभोक्ता समितिको आयोजनामा हुने उक्त प्रतियोगितामा प्रथम हुनेले रु पाँच लाख २५ हजार ५५५ र द्धितीय हुनेले रु दुई लाख ५० हजार ५५५ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
खेलकुदको माध्यमबाट स्वदेश तथा विदेशमा जैविक विविधता र गैँडा संरक्षणको सन्देश दिन यो प्रतियोगिताको आयोजना गर्न लागिएको अखिल नेपाल फुटबल संघ – ९एन्फा०का केन्द्रीय सदस्य प्रकाश पंगेनीले जानकारी दिनुभयो ।
नन्दभाउजु उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले खेलकुदको माध्यमबाट युवामा वन, वन्यजन्तु एवं वातावरण संरक्षणका लागि चेतनाको विकास र विस्तार गर्ने, खेलकुद तथा पर्यापर्यटनको समिश्रण गरी आन्तरिक तथा बाह्य पर्यटक आर्कषित गर्नेलगायतका उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो ।