Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

दोस्रो चरणको निर्वाचनको तयारीस्वरुप उम्मेदवारका आकाङ्क्षीलाई निर्वाचन शिक्षा

Friday, May 19, 2017 National Power

५ जेठ, धनगढी  – यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारीस्वरुप नेपाली काँग्रेसले पार्टीका उम्मेदवारका आकाङ्क्षीलाई ‘निर्वाचन र नेतृत्व’ विषयक प्रशिक्षण दिन सुरु गरेको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा अपेक्षाभन्दा बढी मतपत्र बदर देखिएको परिप्रेक्ष्यमा मतदातामाझ मतदाता शिक्षाबारे चेतना अभिवृद्धि गराउने र उम्मेदवारको काम, कर्तव्य, अधिकार, निर्वाचन आचारसंहितालगायत विषयमा प्रशिक्षित गराउन उम्मेदवारका आकाङ्क्षीलाई प्रशिक्षण दिन थालिएको नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाहले बताए ।

यसै क्रममा बिहीबार आयोजित निर्वाचनसम्बन्धी प्रशिक्षणमा निर्वाचन कार्यालयका कर्मचारीले निर्वाचन आचारसंहिता, निर्वाचन कानुन, मतपत्र बदर हुने/नहुने अवस्थालगायत विषयमा प्रकाश पारेको थियो । सहभागीलाई महेश दाहालले प्रशिक्षण दिइरहेका छन ।

यसैबीच, दोस्रो चरणको निर्वाचनको तयारीस्वरुप नेकपा (माओवादी केन्द्र)ले पार्टीका तर्फवाट स्थानीय तहमा उठाउने उम्मेदवारका टुङ्गो वैशाखमा नै लगाइसकेको छ ।

यस्तै, नेकपा (एमाले)ले कैलालीको धनगढी उपमहानगरबाहेकका स्थानीय तहमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारको टुङ्गो लगाइसकेको छ । नेपाली काँग्रेस, राप्रपालगायत अन्य दलले अहिलेसम्म उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय गरिसकेका छैनन् ।

आगामी केही दिनभित्र उम्मेदवारको टुङ्गो लगाउने गरी तयारी गरिएको काँग्रेसका जिल्ला उपसभापति प्रकाश बमले बताए । निर्वाचनको तयारीका क्रममा विभिन्न दलका नेता तथा कार्याकर्ताले आफ्नो पक्षमा माहोल बनाउन चुनावी सभा तथा भेला गरिरहेका छन् ।

स्थानीय तहको निर्वाचन पहिलो चरणमा तीनवटा प्रदेशमा वैशाख ३१ गते सम्पन्न भएकोमा आगामी जेठ ३१ गते बाँकि चारवटा प्रदेशमा हुन लागेको छ ।