Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

१४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने

Monday, November 10, 2025 National Power

काठमाडौँ – यही कात्तिक २८ देखि ३० गतेसम्म १४औँ युरोपेली सङ्घ चलचित्र महोत्सव नेपाल हुने भएको छ । महोत्सव ठमेलस्थित छायाँ सेन्टरमा हुनेछ भने आगामी मङ्सिर ५ देखि ७ गतेसम्म पोखरामा समापन गरिने छ ।

यस संस्करणमा २५ चलचित्र समावेश गरिएको छ । तीमध्ये १० युरोपेली चलचित्र, बेलायतको बाफ्टा पुरस्कारका लागि मनोनित छ लघु चलचित्र तथा नौ नेपाली लघु चलचित्र रहेका आयोजकले जनाएको छ । सामाजिक जीवनको पहिचान, अपनत्व, प्रतिरोध, रूपान्तरणलगायत विषयलाई विश्लेषण गरी चलचित्र छनोट गरिएको नेपालका लागि युरोपेली सङ्घका सूचना अधिकारी विद्या महर्जनले बताइन् ।

यस संस्करणमा समावेश गरिएका चलचित्रले हिम्मत, स्मृति तथा आशा, भाषा, संस्कृतिलाई प्रतिविम्बित गरेको आयोजकले जनाएको छ । युरोपेली चलचित्रहरूमा पोर्चुगलबाट बाञ्जो, फिनल्याण्डबाट ‘जेभिदा’, अस्ट्रियाबाट ‘ह्याप्पी’, हङ्गेरीबाट ‘विथआउट एअर’ र फ्रान्स तथा इटालीबाट ‘द गर्ल फ्रम टुमरो’ छन् ।

संयुक्त अधिराज्यबाट बाफ्टा लघु चलचित्र प्रस्तुतिअन्तर्गत ‘वान्डर टु वोन्डर’, ‘रक पेपर सिजर्स’, ‘मग्स क्रिसमस’, ‘मिल्क तथा आडिओस’ समावेश छन् । साथै स्थानीय चलचित्रकर्मी तथा चलचित्र अध्यापन संस्थाहरूसँगको सहकार्यमा छनोट गरिएका नेपाली लघु चलचित्र रहेका महर्जनले बताइन् । उनका अनुसार ‘ह्वाट ग्रोज इन थारी माइलाज भेजिटेबल गार्डेन’, ‘चाँदनी’, ‘अबिस, इटर्नल किनशिप’ लगायत छन् ।

उक्त चलचित्र महोत्सव नेपाललाई फ्रान्स, जर्मनी र फिनल्याण्डसहित काठमाडौँ र दिल्लीमा युरोपेली सङ्घका सदस्य राष्ट्रलाई प्रतिनिधित्व गर्ने दूतावास, सांस्कृतिक संस्थाहरू तथा ब्रिटिस काउन्सिल र युनेस्कोसँगको सहकार्यमा नेपालका लागि युरोपेली सङ्घको प्रतिनिधिमण्डलले आयोजना गरेको हो ।

सबै चलचित्र प्रदर्शनी निःशुल्क रहनेछन् । सबै चलचित्रमा अङ्ग्रेजी सबटाइटल राखिने सूचना अधिकारी महर्जनले जानकारी दिइन् । महोत्सवअघि कला, उद्योग तथा सिकाइबीचको सम्बन्धलाई बलियो बनाउन विभिन्न कार्यक्रमहरू आयोजना गरिने उनले बताइन् ।