Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’

Friday, April 11, 2025 National Power

काठमाडौं-यस वर्षका लागि अन्तिम दुई चलचित्र आज (शुक्रबार)देखि देशभरका फिल्म हलमा प्रदर्शनमा आएका छन् । आजदेखि फिल्म हलमा आएका चलचित्र हुन् कृषा चौलागाईं निर्देशित ‘पीताम्बर’ र सौरभ चौधरी निर्देशित ‘कर्मा’ । नयाँ वर्ष २०८२को छेको पारेर यी चलचित्र शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि फिल्म हलमा आएका हुन् । देशका मल्टिप्लेक्स र सिंगल हलहरूले बुधबारदेखि यी चलचित्रको बुकिङ खुलाएका थिए । दुवै चलचित्रलाई सिनेमाहलले सन्तोषजनक सो दिएका छन् । संयोग दुइटै चलचित्र एक्सन जनरामा बनेका छन् । यी चलचित्रले दर्शकको मन जित्नेमा निर्माण टिमको विश्वास छ ।

अभिनेता विपिन कार्की मुख्य भूमिका रहेको चलचित्र ‘कर्मा’ मा उहाँको एक्सन अवतार छ । उहाँले पहिलोपटक एक्सन जनरामा अभिनय गर्नुभएको हो । चलचित्रमा उहाँसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव पन्त, सरिता गिरी, बेन बस्नेतलगायत कलाकारको अभिनय छ । वसन्त लम्सालले लागानी गरेको यो चलचित्र केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको हो ।
‘कर्मा’लाई क्युएफएक्सले उपत्यकामा १९ सो र मोफसलमा १८ गरी ३७ सो दिएको छ । दोस्रो ठूलो मल्टीप्लेक्स आइएनआईले ११ सो, वान सिनेमाजले सात सो, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमा र एफक्युब सिनेमाजले चार-चार सो, बिएसआर मुभिज र विश्वज्योति हलले तीन-तीन सो दिएको छ ।

यस्तै, मल्टि स्टारर चलचित्र ‘पीताम्बर’ मा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, गौरी मल्ल, सुरक्षा पन्त, रविन्द् झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, सुरवीर पण्डित, विशाल पहारी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, बाल कलाकार आर्नव घिमिरे, प्रयुसदत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाई र सुप्रोल बुढाथोकीको अभिनय छ । विशाल चौलागाई निर्माता रहेको यो चलचित्र केपी फिल्मसको व्यानरमा निर्माण भएको हो ।

‘पिताम्बर’लाई मल्टिप्लेक्स हल क्युएफएक्स सिनेमाजले उपत्यकामा २७ र मोफसलमा २५ सोसहित ५२ सो दिएको छ । दोस्रो मल्टिप्लेक्स आईएनआई सिनेमाजले आफ्ना चारवटा हलमा १६ सो, वान सिनेमाजले १२ सो, एफक्युब सिनेमाजले सात सो, बिग मुभिज र रञ्जना सिनेप्लेक्सले ६ सो, बिएसआर मुभिज र सिडिसी सिनेमाजले चार-चार सो र विश्वज्योति हलले तीन दिएको छ ।

त्यस्तै सिनेमाघरमा बलिउड चलचित्र ‘जाट’ पनि प्रदर्शनमा आएको छ । बिहीबारदेखि ‘जाट’ प्रदर्शनमा आएको छ । ‘जाट’ ले १०३ शो पाएको छ । त्यस्तै, दोस्रो हप्तामा पुगेको नेपाली चलचित्र ‘वसन्त’ ले ५५ शो पाएको छ । यस्तै, गत फागुन २९ गतेबाट रिलिज भएको मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’ पाँचौं हप्ता प्रवेश गरेको छ । यो चलचित्रको लोकप्रियता कायम रहिरहँदा पाँचौं हप्ताको पहिलो दिन करिब ५० शो प्राप्त गरेको छ, जुन रिलिजको पहिलो दिनको भन्दा पचास प्रतिशत मात्र कम हो । नेपाली दर्शकको रोजाइमा परिरहेको ‘अञ्जिला’ यसवर्षको वर्षको उत्कृष्ट पाँच सूचीमा परिसकेको छ ।