Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलले घोषणा गरे ‘कोसेढुंगा’

Sunday, January 5, 2025 National Power

काठमाडौँ – ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले नयाँ फिल्म ‘कोसेढुंगा’ निर्माणको घोषणा गरेका हुन् । उनले आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेका हुन् । थिम पोस्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमिमा राखेर पहाडलाई हेरिरहेकी एक महिला उभिएका छिन् । माथि डाँडामा उभिएकी उनको अगाडि अग्लो रुख र पहाडी शैलीको घर छ र परपर क्षितिज छ ।

घुरमैलो कलरले पहाडी कठिन जीवन, अग्लो रुखले पहाडी जीवन बाँच्नेका अग्ला सपना र क्षितिजले भेट्न नसकिने सपनाको सङ्केत गरेको अनुमान लगाउन सकिन्छ । डाँडामा उभिएर पहाडलाई हेर्दै गरेकी महिलाले पहाडी जीवन छोडेर सपना पछ्याउने हिँडेको अर्थ लगाउन सकिन्छ । पोस्टरले ‘कोसेढुंगा’ सोसल ड्रामा भएको प्रस्ट हुन्छ ।
२०८२ मा रिलिज हुने फिल्म नरदेवी फिल्मसको प्रस्तुतिमा प्रेविल कँडेल र हरि महतको लगानीमा निर्माण हुन लागेको हो । फिल्मका कार्यकारी निर्माता दिनेश खड्का रहेका छन् । बाबु श्रेष्ठको डीओपी रहने फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन रहनेछ । फिल्ममा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ । फिल्ममा मुख्य भूमिकामा को–को रहनेछन्, त्यो निर्माण टिमले जानकारी दिएको छैन ।

‘फिल्मको कलाकार र डिटेयल जानकारी हामी केही समयपछि दिनेछौ’, निर्देशक पौडेलले भने, ‘तर हामी यति भन्छौँ, पूर्ण बहादुरको सारङ्गी जसरी दर्शकले मन पराउनुभयो त्यसैगरी मन जित्ने फिल्म बनाउने कोसिस रहनेछ ।’ पौडे निर्देशित ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली फिल्म उद्योगमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड राखेको छ । फिल्मले स्वदेशी बक्सअफिसमा करिब ५० करोडको व्यवसाय गरेको छ ।