Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

दिपावली तथा तिहारको महत्व

Thursday, October 31, 2024 National Power

तिहार पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) दिन मनाइन्छ । हिन्दू धर्मावलम्वीले दीपावलीको रूपमा यस पर्वलाई धूमधाम सित मनाउँछन् । यस पर्वको नाम हिन्दी शव्दको त्योहार शव्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ। पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरू छन् । हिन्दू चान्द्र मासिक पञ्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरू निश्चित गते र तारिखमा नपर्ने हुनाले तिहार पनि अंग्रेजी वा ग्रेगरियन क्यालेण्डर अनुसार प्रायः अक्टोबर वा नोभेम्बरको महिना शुरुमा पर्छ ।

सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ । यसरी रहँदा–बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई “जे मन लाग्छ वर माग“ भन्दा यमुनाले “हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी–भाइ दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्“ भन्ने वरदान मागिन्। यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन काल देखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ । तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्का्तिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ ।

दिपावली तथा तिहारको सामाजिक महत्वः तिहारको सांस्कृतिक पक्ष पनि छ । भारत तथा नेपाल कृषि प्रधान देश हुन्। जब कृषक आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्न रूपी संपत्ति घरमा ल्याउँने समय जब हुन्छ तब उसको खुशी एवं उमंगको सीमा हुँदैन। यस खुशीको अवसरमा उ भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ। पहिले दशैं अनि त्यसको पन्ध्र दिनपछि आउने तिहार दुवै पर्वमा देवी दुर्गाका विभिन्न रूपहरूको पूजा–आराधना गरिन्छ । सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस् भन्ने उद्देश्यमा गरिएको पनि अनुमान गरिन्छ। दक्षिण एशियाका धेरै देशमा विशेष गरि भारत, नेपाल, भूटान र बर्मा म्यानमारमा यो पर्व विभिन्न प्रकारले मनाइन्छ ।

काग तिहारको महत्वः काग अत्यन्त चलाख पक्षी हो । काग सर्वभक्षी प्राणी हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा–फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो । त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषणा, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् । कार्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ ।

कुकुर तिहारको महत्वः यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाइन्छ, जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोर–डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिन्छौं ।

गाई तिहार अनि लक्ष्मी पूजाको महत्वः हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन् । गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ । कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नअघि गाईको गोबरले घर–आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर–कोठा–चोटा पवित्र तुल्याउने हिन्दूहरूको संस्कार छ । गाईलाई पशुधनका रूपमा लिइन्छ । त्यसैगरी गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ ।लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर–घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ ।

भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्ग होस् वा यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको नै किन नहोस् यी सबै प्रसङ्गमा यो दिनको ठूलो महत्त्व रहेको तथ्य स्पष्ट हुन्छ । सुख–सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो ।

दीपावलीमा तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागी आफूलाई आत्मिक रूपमा सुख–सन्तोष प्रदान गर भन्ने यो दिन चेलीबेटीहरू भैलो खेलेर रमाइलो गर्छन् । नेपालका प्रमुख पर्वहरूमध्ये एक हो । तिथिअनुसार कर्तिक कृ्ष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ। नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ। नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ। वर्षका चार महत्वपूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ। यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ ।

गोबर्धन पुजा तथा गोरु पुजा र यसको महत्व : गोरु तिहार, हल तिहार वा गोवर्धन पूजा चौथो दिन मनाइन्छ । पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । विश्वास अनुसार कृष्ण भगवान गोकुलमा गोपालहरूसँग बस्दथे । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरूले केही पाउँदैन थिए । कृष्णले एकदिन गोकुलवासीहरूलाई केहि नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज,घास,पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी हुन्छन् र गोवर्धन पर्वतको पूजा हुन्छ । आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउँछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरूलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् । भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो ।

संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन,गोकुल,गोपाल यी शव्दहरूले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ । वास्तवमा गोवर्धन पूजाको दिन तिहार (यम पञ्चक) को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन नेपालीहरूले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरूको पालनहारी गोरूको पनि पूजा गर्दछन्। त्यसैले तिहारको चौथो दिन गोबर्धन पर्वतलाई पुजिन्छ ।

भैली अनि देउसी र यसको महत्व : अयोध्यावासीहरूले आफ्ना परम प्रिय राजाको आगमनमा खुशियाली मनाएका थिए। श्री रामको स्वागतमा अयोध्यावासीहरूले घिउका दियाहरू बालेका थिए । कार्तिकमासको बाक्लो कालो अमावस्याको त्यो रात्रि दियाहरूको उज्यालोले जगमगाएको थियो। मानिसहरूले घर–घरमा, गल्ली–गल्लीमा देव श्री राम–जसको अर्थ हुन्छः हाम्रा राम देउता हुन् को नारा लाउँदै घुमेकाथिए, देव श्री रामबाट विकृत हुँदै देउसिरी राम, देउसिरे, देउसी भएको अनुमान गरिन्छ सोही परम्परालाई मान्दै आजपनि नेपालीहरू देउसी खेल्दै हिंड्ने चलन छ। देउसी खेल्ने टोलीलाई देउसे भनिन्छ र उनीहरूमा एउटा भट्याउने र अरू भट्याउनेको पछि पछि देउसिरे भन्ने हुन्छन्।
त्यसै गरी देउसीको एउटा अर्को कथा पनि जोडिएको छ । एक जना बलि भन्ने राजा पृथ्वीमा राज्य गर्थे, उनी अति नैं दानी थिए, प्रत्येक दिन दान नगरी उनी केहि खादैंनथे। यस पुण्यको प्रतापले स्वर्गा्दि लोकहरू हल्लिन थाले र देवताहरूले भगवान् विष्णुको प्रार्थना गरे जसमा विष्णुले बलिलाई दमन गरी पाताल र्पुयाउने आश्वासन दिए। त्यसपछि वामन ९बाहुन्ने०को रूप लिएर बलिलाई छल्न विष्णु त्यहाँ गए र तीन पाउ जमिन दानको याचना गरे, यसमा बलिले सोचे ’ यो ब्राह्मण त्यसै सानो छ र यसका पाउहरू पनि अति साना छन् र यसले अति थोरै जमिन माग्यो भन्ने भ्रान्तिमा परे तर बलिले दान संकल्प के सकेकाथिए वामनको रूप विराट भयो र एउटै पाउले समस्त पृथ्वी ढाकिदियो र अर्को पाउले आकाश त्यस पछि तेस्रो पाउ भरिको जमिन कहाँबाट दिने भनी बलि अन्योलमा परे । बलीले उनले आफ्नो थाप्लो थापे, थाप्लोमा विष्णुको पाउ पर्ना साथ बलि भासिएर पाताल पुगे, अन्त्यमा विष्णुसित उनले प्रार्थना गरे कि उनलाई वर्षमा एक पल्ट तिहारको बेला पृथ्वी घुम्ने अवसर दिइयोस्, यस प्रार्थनालाई स्वीकारेर बलिलाई वर्षमा एकपल्ट आउने अनुमति दिए र बलि यहि तिहारको मौकामा घुम्न आउँछन् भन्ने विश्वास गरि बलिको स्वागतमा दीप जलाइएको भन्ने पनि भनाई छ। देउसेहरू बलि राजा आउन नभ्याएको र उनीहरूलाई बलिले पठाएको भनी देउसी भट्याउनेले भन्छन् । स्त्रीजातिहरूले पनि बलिको स्वागतमा बलि गीत विकृतरूप भैली गीत गाउँछन्, औंसीको रातभरि भैली खेल्छन् ।

भाइ तिहार (भाइ टीका) को महत्वः तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्न्हिित गरेको पाइन्छ । दाजु यमराजलाई विशेष मान सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ । भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख९समृद्धि, अरोग्य एवं दीर्घायूको कामना अन्र्तनिहित छ ।

भाइटीकाको पौराणिक कथा परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहीनी यमुनालाई भेट्न आएका थिए । यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा । त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइन् । त्यो बेलामा यमपञ्चक परेको थियो । यमपञ्चकभर यमुना कहाँ बसे । भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन् । त्यहीबेलादेखि नै भाइटीकाको प्रारम्भ भएको भनिन्छ ।

भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ । यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । दिदीबहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान९सुपारी, फूल आदि दिने चलन। भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने मानिसहरूको विश्वास छ। टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान्, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् । भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा९मीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजु–भाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ ।

पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंगकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । सप्तरंगी टीकामा भावना मिसिंदा शान्ति बर्षिन्छ । दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदान–प्रदान गरिन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानी पोखरी स्थित मन्दिरमा पूजाआजा गर्छन् ।

तिहारमा लगाईने सप्तरंगी टिकाको महत्वः हिन्दू धर्ममा टीकाको धेरै महत्व छ, पूजा–पाठ पछि टीका थाप्दा आत्मामा धेरै आनन्दानुभूति हुन्छ। टीका विशेषतः रातो वा पहेलो रंगका लगाइन्छ। टीका निधारमा लगाइन्छ। तिहारमा लगाइने टीका सात रंगका हुन्छन्, पहेंलो, नीलो, सुन्तला रंगको,सेतो, हरियो, रातो र कालो। सात रंगका यी टीकालाई सप्तरंगी भनिन्छ। सतरंगी टीकालाई निधारमा उर्द्ध्वाकार रेखामा सिधा लगाइन्छ। यसबाट तीनवटा रंग घरमा पनि तयार गर्न सकिन्छ। हरियो रंगको लागि हरियो घास पिनेर तयार गरिन्छ, सेतो रंग चामल पिनेर र कालो रंग कोइलाबाट वा बत्तीको कालिखबाट लिइन्छ।

–विभिन्न अनलाइनहरुको सहयोगमा तयार पारिएको सामग्री