Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

५० प्रतिशत सेयर र निःशुल्क प्रोमोको सुविधा पाउन निर्माता संघको सदस्य हुनै पर्ने

Thursday, October 24, 2024 National Power

काठमाडौँ – फिल्म रिलिजको समयमा हलमा निःशुल्क प्रोमो, ५० प्रतिशत सेयरको सुविधा प्राप्त गर्न अब निर्माता संघको सदस्य अनिवार्य बन्नुपर्ने भएको छ । चलचित्र निर्माता संघले आफ्नो सदस्य नरहेका व्यक्तिलाई संघ मार्फत प्राप्त भएका विभिन्न सेवा सुविधाबाट वञ्चित गर्ने निर्णय गरेको हो ।

संघको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको निर्माता संघका अध्यक्ष नवल खड्काले जानकारी दिए । ‘निर्माता संघले चलचित्र संघसँग विभिन्न सेवा सुविधाका लागि जतिपनि सहमति गरेको छ । त्यो संघको सदस्यका लागि मात्र हो’, नवलले भने, ‘हामी सदस्यका लागि लड्ने, त्यसको फाइदा बाहिरले लिने । म त्यो हुन दिन्न ।’ संघलाई बाइपास गरेर जाने र आफूहरूले लडेर ल्याएका अधिकार उपभोग गर्ने कार्य उचित नरहेको नवलको भनाई छ । कार्यसमिति बैठकको निर्णय कार्यान्वयनका लागि प्रदर्शक संस्था चलचित्र संघलाई लेखी पठाउने समेत निर्णय गरेको छ ।

गत वर्ष निर्माता संघ र चलचित्र संघबिच ५०–५० प्रतिशत सेयर बाँडफाँटको सहमति भएको थियो । यो सहमतिमा प्रदर्शक संस्थाका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ र निर्माता संघबाट अध्यक्ष खड्काले हस्ताक्षर गरेका थिए । त्यसको केही अगाडि फिल्म रिलिज गर्दा हलमा निःशुल्क १५ दिन प्रोमो बजाउने सुविधा समेत चलचित्र संघले निर्माता संघलाई दिएको थियो ।

‘महाजात्रा फिल्मलाई दुई संस्थाका निर्णयबाट ८४ लाख फाइदा पुग्यो’, उनले भने, ‘१५ दिन हलमा ट्रेलर बजाउन तिर्नु नपर्दा पनि निर्मातालाई २० लाख बच्छ ।’ पछिल्लो समय गैरसदस्यले निर्माता संघविरुद्ध सार्वजनिकरुपमा विभिन्न अभिव्यक्ति दिनथालेपछि संले यस्तो निर्णय गरेको खड्काले बताए ।

संघले एकै मितिमा दुईभन्दा बढी नेपाली फिल्म रिलिज नहुने व्यवस्था समेत गर्न लागेको छ । ‘‘हामी हाम्रा सदस्यको अधिकारका लागि हमेशा लागि परेका छौँ’, उनले भने, ‘अब एकै मितिमा दुईभन्दा बढी नेपाली फिल्म रिलिज हुँदैन ।’ यसका लागि छलफल समेत चलिरहेको खड्काले जानकारी दिए ।