
काठमाडौं-‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्श नेपाल महिला चेम्बरको प्रस्तुति, लिडिभाईन, भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसियटमा बिहीवार काठमाडौँको र्याडिशन होटेलमा भव्य रुपमा उक्त समारोह सम्पन्न भएको हो ।
नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष एवम् साल्ट ट्रेडिङ् कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त समारोहमा विशेष अतिथी प्रख्यात अभिनेत्री जय प्रदालगायत नेपाल, भारत, युके बाट सहभागिता जनाएका अतिथीजनलाई स्वागत गर्दै समारोहलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सवैलाई धन्यवाद दिनुभएको थियो ।
प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा रानाको प्रमुख आतिथ्यता तथा लोकप्रिय भारतिय अभिनेत्री जय प्रदाको विशेष आतिथ्यता रहेको उक्त समारोहमा नेपाल तथा भारतका उच्च पदस्थ व्यक्तीहरू सेलिब्रेटी तथा प्रसिद्ध कलाकारहरूका साथै सयौ व्यक्तिको उपस्थिति थियो ।
कला साहित्य र संस्कृतिलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउदै आएका र सामाजिक जीवनमा प्रसिद्धि कमाएका विभिन्न विधाका करिब चार दर्जन बढि प्रतिष्ठित व्यक्तिलाई उक्त अवार्ड प्रदान गरिएको थियो । जसमा नेपालबाट करिब तीन दर्जन बढी र भारतबाट करिब डेढ दर्जन बढि व्यक्तित्वहरूले अवार्ड प्राप्त गरे ।
नेपालका चर्चित कलाकारहरू गायक आनन्द कार्की, गायक यम बरालको प्रस्तुति रहेको समारोहमा भारतिय कत्थक डान्सरहरूको नृत्य र नेपाल भारतका र्याम्प मोडलहरूले दुवै देशको संस्कृति झल्कने पहिरनबाट र्याम्प शोसमेत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी उपसभामुख रानाले यस्ता कार्यक्रमबाट नेपाल र भारतको मित्रताको डोरी कसिलो बन्दै जानुका साथै दुबै देशको संस्कृति प्रवर्द्धनमा समेत सहयोग पुग्ने बताउनुभयो । यसरी दुई छिमेकी मुलुकको संस्कृतीक सम्बर्द्धनको लागी महत्त्वपूर्ण भूमिका खेलेको भन्दै आयोजक कमिटीलाई धन्यवादसमेत दिनुभयो ।
यस्तै उक्त समारोहमा वलिउड अभिनेत्री जय प्रदालाई भब्य सम्मानसमेत गरिएको थियो । नेपाल चेम्बर अफ कमर्शको अध्यक्ष कमलेशकुमार अग्रवाल तथा महिला चेम्बरकी उपाध्यक्ष श्रेष्ठले अभिनेत्री प्रदालाई सम्मान प्रदान गर्नुभएको थियो । सोही क्रममा अभिनेत्री प्रदाले नेपाल आफ्नो दोस्रो घर भएको र यसरी नेपालीको माया पाउदा आफू निकै हर्षित भएको भन्दै खुसीसमेत व्यक्त गर्नुभयो ।
यस्तै स्वयं अभिनेत्री प्रदाले पनि साल्ट ट्रेडिङ कर्पोरशनका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ लगायतलाई आफ्नो तर्फबाट सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोईराला,चलचित्र विकास बोर्डका अध्यक्ष एवम् अभिनेता भुवन केसी, अभिनेत्रीत्रय बसुन्धारा भुसाल, चैत्यदेवी तथा भुवन चन्द, कलाकार किरण केसी, राजाराम पौडेल, उत्तम केसी, देविका बन्दना, संगीतकार शम्भुजित बासकोटा, राजु सिंह, नारायण प्रधानका साथै अभिनेता सरोज खनाल, प्रहरी अतिरिक्त महानिरिक्षक भीमप्रसाद ढकाल, नेपाली सेनाका सहायक रथि राजन अधिकारी, लोकप्रिय भारतिय गुगल आन्टि ७९, प्रिमिला हिंगोरोनी, युके प्रतिष्ठित व्यवसायी सोनिया भाटिया, भारतिय प्रख्यात व्यक्तित्व सविता राणा भारती, प्रतिष्ठित व्यबसायी एवम् सामाजिक अभियान्ता डा. अनुप शर्मा भारतिय चर्चित डान्सर हिमांशु द्धिवेदी टिपिएफ फ्याकिटका आकाश गुप्ता, डा. अर्पणा शाह, चेम्बरका पदाधिकारीहरू, पर्यटनविद, संस्कृतिविदलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थिती थियो ।
कार्यक्रममा अभिनेत्री जय प्रदा अभिनित चर्चित गीत ‘डफली वाले’ मा प्रस्तुति दिनुभएको थियो । उहाँको नृत्यमा उपस्थित दर्शकहरूले गडगडाहट ताली बजाएर सम्मान गरेका थिए । सञ्चारकर्मी दिनेश डिसीले सञ्चालन गरेको उक्त कार्यक्रममा आयोजक लिडिभाईनकी प्रमुख पुनम कौशिक, व्यवस्थापक श्रुती सरल, निर्देशक अंकित शर्मा, नेपालका आयोजक प्याजेन्ट नेपालका प्रमुख राज लुईटेल लगायतले कार्यक्रम सफल भएको र आगामी दिनमा हुने कार्यक्रमका लागि थप उर्जा मिलेको बताउनुभयो ।
अभिनेत्री प्रदा यसै कार्यक्रममा सहभागिताका लागि दुई दिने नेपाल भ्रमणमा आउनुभएको थियो । उहाँसहित भारतबाट करिब चार दर्जन वढि व्यक्तित्वहरूको सहभागीता थियो ।