Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

विन्ध्यवासिनीको सम्मान एवं पुरस्कार घोषणा

Sunday, January 28, 2024 National Power

काठमाण्डौ – विन्ध्यवासिनी फाउन्डेसनले आगामी चैत १ गते आयोजना गर्ने ‘रमपम विन्ध्यवासिनी म्यूजिक अवार्ड २०८०’ मा गायिका मिरा राणालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड २०८०’ प्रदान गर्ने भएको छ । फाउण्डेसनको शनिबार राजधानीमा सम्पन्न दसौँ वार्षिक भेलाले गायिका राणालाई १ लाख रुपैयाँ राशीसहित ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्ने निर्णय गरेको हो । भेलाले संगीतकार भूपेन्द्र रायमाझीलाई ‘विन्ध्यवासिनी संगीत साधना सम्मान २०८०’ बाट सम्मानित गर्ने निर्णय गरेको छ । यो सम्मानको राशि ५० हजार रुपैयाँ छ ।

त्यस्तै, पत्रकार शान्तिप्रियलाई २५ हजार रुपैयाँ राशिको ‘विन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०८०’ प्रदान गर्ने निर्णय गरेको छ । बैठकले फाउन्डेसनका दिवङ्गत सल्लाहकार तथा गायक र संगीतकार प्रेमध्वज प्रधानको नाममा स्थापित ‘प्रेमध्वज संगीत रत्न सम्मान २०८०’बाट युवा गायक रुपक डोटेललाई सम्मान गर्ने निर्णय गरेको छ । यो सम्मानको राशि नगद २५ हजार रुपैयाँ छ ।

यसैगरी स्वर्गीय झलकमान गन्धर्वको नाममा स्थापित ‘झलकमान लोक–संगीत सम्मान २०८०’ लोकदोहोरी गायक राजु परियारलाई सम्मान गर्ने निर्णय गरेको छ । यो सम्मानको राशि २५ हजार रुपैयाँ छ । विन्ध्यवासिनी म्यूजिकका कार्यकारी निर्देशक सुवास रेग्मीले स्रष्टा र पत्रकारको योगदानको सम्मान र कदर गर्दै विगतका वर्ष झैँ यसवर्ष पनि सम्मानित गर्न लागिएको बताए ।