Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार-२०८०’ घोषणा,विभिन्न ब्यक्तित्वहरु सम्मानित एबम् पुरस्कृत हुँदै

Wednesday, December 20, 2023 National Power

काठमाडौं– वरिष्ठ संगीतकर्मी नातिकाजीको ९९ औं जन्म जयन्तीको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित एक समारोहमा ‘नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार-२०८०’ घोषणा गरिएको छ ।  नातिकाजी स्मृति समाजले आयोजना गरेको कार्यक्रममा विभिन्न स्रष्टा, संगीतकर्मी तथा सञ्चारकर्मीलाई यो सम्मान तथा पुरस्कार अर्पण गरिने समाजका अध्यक्ष वरिष्ठ संगीतकार शम्भूजीत बास्कोटाले बताएका छन् । अध्यक्ष बास्कोटाले नेपाली गीत–सङ्गीतका शिखर व्यक्तित्व नातिकाजीका योगदानलाई नेपाली पुस्ताले सम्झिरहने बताए ।

विक्रम सम्वत् १९८२ पुस ३ गते पुल्चोक ललितपुरमा जन्मिएका नातिकाजीले नेपाली राष्ट्रिय गीत, लोकगीत, आधुनिक, भजन, गीतिनाटक, नाटक, चलचित्र गीतमा स्वर तथा सङ्गीत दिएका छन् । उनको निधन २०६० सालका कात्तिक १६ गते भएको थियो ।

राष्ट्रपतिको हातबाट प्रदान गरिने यो सम्मान नेपाली मौलिक संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टालाई प्रदान गरिने जनाइएको छ । संगीतकार शम्भुजीत बास्कोटाको अध्यक्षतामा समाजको हालै सम्पन्न बैठकले सम्मान तथा पुरस्कारको निर्णय गरेको हो । नातिकाजीको मित्रपार्कस्थित निवासमा मंगलवार आयोजित विशेष समारोहमा समाजका उपाध्यक्ष दीपक श्रेष्ठले यो वर्ष नातिकाजी स्रष्टा सम्मान तथा पुरस्कार-२०८० द्वारा सम्मानित तथा पुरस्कृत हुने व्यक्तित्वहरुको नाम घोषणा गरेका हुन् ।

यो वर्ष ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान’ बाट गीत रचनातर्फ आनन्द अधिकारी, वाद्यवादनतर्फ केशव सुनाम, गीत रचनातर्फ भूषण खरेल, गीत रचनातर्फ सुनिल थापा, परम्परागत संगीतर्फ धर्म मुनिकार, गायनतर्फ सुदेश शर्मा, वाद्यवादनतर्फ कुमार सिंह, वाद्यवादनतर्फ सुवर्ण लिम्बु, गीत रचनातर्फ राम भट्टराई तथा गीत रचनातर्फ वसन्त वित्यासी थापा छन् ।

त्यस्तै ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार’ बाट पुरस्कृत हुनेहरुमा गीतकार विजय शिवाकोटी, गायक शिशिर योगी, गायिका बानिका प्रधान तथा संगीतकार राजनराज शिवाकोटी छन् । त्यस्तै ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट गायक सञ्जय तुम्रोक, गायिका रचना रिमाल, संगीतकार शशि विक्रम थापा तथा गीत रेकर्डिष्ट प्रकाश मिश्र छन् । ‘नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार’ लोक गायक अमृत खातीलाई प्रदान गरिने छ ।

‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ बाट पत्रकारद्वय शान्तिप्रिय तथा कृष्ण भट्टराई पुरस्कृत हुँदैछन् ।