Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

‘प्रेमगीत ३’ले भारतीय समीक्षकबाट गतिलो प्रतिक्रिया पाउन चुक्यो

Saturday, September 24, 2022 National Power

काठमाडौँ – शुक्रवारबाट फिल्म ‘प्रेमगीत ३’ नेपालमा नेपाली भर्सन र भारतमा हिन्दी डब एकसाथ प्रदर्शनमा आएको छ । नेपालमा भने हिन्दी डब घटस्थापनाबाट रिलिज हुनेछ । पहिलो पटक नेपाली फिल्म हिन्दीमा डब भएर भारतमा प्रदर्शन भएकाले फिल्मको प्रतिक्रिया र व्यापारलाई लिएर धेरैको चासो छ । यो फिल्मले भारतमा राम्रो कमाई गरे भविष्यमा अरु नेपाली फिल्मलाई पनि बाटो खुल्नेछ ।

तर, ‘प्रेमगीत ३’ले भारतीय समीक्षकबाट गतिलो प्रतिक्रिया पाउन चुकेको छ । प्रदर्शन अघि भारतीय समीक्षक तथा ट्रेड एनालिस्ट कोमल नाहटाले नेपाली फिल्म पहिलो पटक भारतमा प्रदर्शन हुन लागेको सामाजिक सञ्जालबाट पटक-पटक जानकारी दिँदा दंग भएको निर्माण टिम यतिबेला उनकै समीक्षाका कारण तनावमा छ । किनकि, उनले यो फिल्मलाई अत्यन्त कमजोर भनेका छन् ।

उनले फिल्मको समीक्षा गरेको भिडियो आफ्नो यूट्युबमा अपलोड गर्दै भनेका छन्, ‘फिल्मको कहानीमा केही पनि नयाँपन छैन । यसप्रकारको लभस्टोरी र एक्सन ड्रामा यसअघि कयौं फिल्ममा हेरिसकेका छौं । त्यसैले नयाँ भन्ने केही पनि छैन । ड्रामाले मन छुँदैन । जब केटाकेटीको विछोड हुँदा पनि दर्शकको दिल रुँदैन भने त्यो लभस्टोरीको अर्थ छैन । ‘प्रेमगीत ३’मा पनि यस्तै छ ।’

उनले फिल्मको स्क्रिनप्लेलाई कमजोर भनेका छन् । दृश्यहरु सजिलै अनुमान लगाउने खालको रहेको र दर्शकहरुलाई सरप्राइज नबनाउने उनको भनाई छ । डाइलग पनि खासै नयाँ नभएको उनले बताएका छन् । उनले अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङको भने तारिफ गरेका छन् । दुवैले कन्फिडेन्टका साथ अभिनय गरेको र दुवै क्यूट देखिएको नाहटाको भनाई छ ।

निर्देशक द्वय छेतेन गुरुङ र सन्तोष सेनको न्यारेटिभ स्टाइलले पनि दर्शकलाई बाँध्न नसक्ने नाहटाको तर्क छ । कोरियोग्राफी र एक्सनको पाटोलाई पनि उनले औसत भनेका छन् । ‘प्रेमगीत ३’मा नयाँ कुरा केही नभएकाले फिल्मले बक्सअफिसमा खासै राम्रो नगर्ने दाबी समेत उनको छ । कोमलले फिल्मको सबैभन्दा बलियो पक्ष संगीत, लोकेशन र छायांकन रहेको उल्लेख गरेका छन् ।

नेपालमा भने कुनै समीक्षकले फिल्मको समीक्षा गरिसकेका छैनन् । तर, दर्शकबाट फिल्मलाई मिश्रित प्रतिक्रिया प्राप्त छ । कसैले राम्रो भनेका छन् भने कसैले कमजोर भनेका छन् । यद्यपि, फिल्मले शुक्रवार आक्रामक व्यापार गर्‍यो । शनिवार फिल्मको व्यापार थप आक्रामक हुने देखिन्छ । तर, ‘वर्ड अफ माउथ’ अपेक्षाकृत नहुँदा आइतवारबाट फिल्मको व्यापार के हुन्छ भन्ने अन्योल छ ।