Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

आइतबार एकै दिन २५ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ सरकारी कोषबाट भुक्तानी

Sunday, July 10, 2022 National Power

काठमाडौं -चालु आर्थिक वर्षको बजेट खर्च आइतबारदेखि नै रोकिने भएपछि अन्तिम दिन आज ठूलो भुक्तानी भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आज आइतबार एकै दिन अधिकतम २५ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ सरकारी कोषबाट भुक्तानी भएको हो ।
यस्तो भुक्तानी चालु, पुँजीगत र वित्तीय व्यवस्थापन गरी तीन क्षेत्रबाट भएको हो ।  महालेखा नियन्त्रकका अनुसार आज आइतबार मात्र चालु खर्च तर्फ १० अर्ब ५८ करोड ४१ लाख रुपैयाँ भुक्तानी भएको छ भने पुँजीगत तर्फ १४ अर्ब ७२ करोड ७४ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ २४ करोड ७१ लाख रुपैयाँ भएको छ ।  चालु आर्थिक वर्षका लागि कुल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको सरकारले अन्तिमसम्ममा कुल १२ खर्ब ३७ अर्ब ७० करोड १० लाख रुपैयाँ खर्च गर्न सकेको छ । यो भनेको कुल बजेटको ८५.८ प्रतिशतको खर्च हो ।

समग्रमा यस वर्ष विनियोजित बजेटको १४.२ प्रतिशत बजेट खर्च गर्न सकेन । तथापि, यस्तो खर्च पुँजीगततर्फ अझ ठूलो रकम खर्च हुन नसकेर फ्रिज हुने देखिएको छ ।  चालु आर्थिक वर्षका लागि पुँजीगत तर्फ कुल ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ विनियोजन गरेकोे सरकारले असार २६ गतेसम्म जम्मा १ खर्ब ८९ अर्ब ४८ करोड १७ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ । जुन विनियोजित बजेटको ५०.११ प्रतिशत हो । विनियोजित बजेटको आधा मात्र खर्च गर्न हुन सकेकोमा पुँजीगत (विकास) खर्च आधा नै फ्रिज हुने देखिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम (१) र (२)अनुसार सरकारी कार्यालयहरूबाट हुने सबै खाले भुक्तानी आर्थिक वर्ष सकिने अन्तिम ७ दिन पहिले नै सम्पूर्ण रोक्नुपर्ने व्यवस्था छ ।