Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु

Thursday, December 30, 2021 National Power

काठमाडौं – बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अन्य तीन जनाको उपचार भइरहेको छ । अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कालीकोटको खाडाचक्र घर भएका धनप्रसाद भट्टराई, धनप्रसादकी आमा कोकिला भट्टराई, दिदी नन्दकली र उनका तीन महीनाको छोरा इप्सन भट्टराईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

धनप्रसादकी श्रीमती सुशीला, ३ वर्षीय छोरा विवश र भाइ नरेन्द्र भट्टराईको भेरी अस्पतालमा उपचार भइरहेको छ । श्रीमती सुशीला होसमै रहे पनि विवश र नरेन्द्रको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर खिमबहादुर घर्तीमगरले जानकारी दिए ।

परिवारका सातै जना सदस्य अस्पताल परिसरमै रहेको क्वाटरको एउटा कोठामा सुतेका थिए । आज बिहान अबेरसम्म पनि ढोका नखुलेपछि प्रहरीको टोली पुगेर ढोका खोल्दा सबै बेहोस अवस्थामा भेटिएका थिए । त्यसपछि उनीहरुलाई अस्पतालमा उपचार गर्न लगिएको थियो । उपचारको क्रममा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरु सुतेको कोठाभित्र न्यानो बनाउन टिनको बट्टामा आगो बालेर राखेको पाइएको छ । झ्याल, ढोका बन्द भएकाले उनीहरुको निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । यद्यपि मृत्युको वास्तविक कारण भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै पत्ता लाग्ने इन्सपेक्टर घर्तीमगरले बताए ।