Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

लकडाउन नगर्ने मनस्थितिमा सरकार

Sunday, September 20, 2020 National Power

काठमाडौं- कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै लामो समयसम्म लकडाउन र निषेधाज्ञा गरेपछि आलोचित बनेको सरकार अब उपत्यकामा लकडाउन नगर्ने मनस्थितिमा पुगेको छ । लकडाउनको विकल्पका रुपमा उपत्यकाको भीडभाड हुने स्थानमा पहिलो चरणमा एक सय युवा स्वयंसेवक परिचालन गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालय, राष्ट्रिय युवा परिषद् र उपत्यकाका सबै स्थानीय तहका प्रतिनिधिबीच हालै सम्पन्न बैठकले बढी भीडभाड हुने समयमा दशैं लक्षित युवा परिचालन गर्ने निर्णय गरेको हो । परिषद्ले युवा स्वयंसेवक छनोट गर्ने, स्वास्थ्य मन्त्रालयले परिचालन गर्नुअघि तालिम दिने जिम्मेवारी तोकेको छ ।

छनोटमा परेका युवा स्वयंसेवकलाई काठमाडौं र ललितपुरसहित उपत्यकाका १८ स्थानीय तहको छनोट गरेका भीडभाड हुने स्थानमा परिचालन गर्ने भएको छ । परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि युवा परिचालन गर्न लागेको जानकारी दिनुभयो । परिषद्ले छनोट गरेका युवालाई स्वास्थ्य मन्त्रालयले तालिम दिने बताउँदै उहाँले भन्नुभयो– ‘तीन दिनभित्र स्वयंसेवक छनोट गर्नेछां, ७ गतेबाट तालिम दिएर ९ गतेबाट खटाउने छौं ।’

युवा परिचालन गर्नुअघिको स्वास्थ्य मापदण्डबारे मन्त्रालयले, युवा परिचालन कार्यविधि परिषद्ले र परिचालन गर्ने स्थानको बारेमा स्थानीय तहले कार्ययोजना बनाउने ढुंगेलको भनाइ थियो । बैठकमा स्वास्थ्य मन्त्रालयका विज्ञ डा. खेम कार्की, मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतम, कार्यकारी उपाध्यक्ष ढुंगेल, उपत्यकाका स्थानीय तहका कोभिड सम्पर्क अधिकृत र परिषद्ले बोलाएका स्वास्थ्यविज्ञको सहभागिता रहेको थियो ।

मन्त्रालयले पहलो चरणमा नमुनाका रुपमा सय र त्यसपछि थप संख्यामा युवा परिचालन गर्ने तयारी गरेको छ । ढुंगेलले सरकारको आग्रहअनुसार कोरोना संक्रमणलाई नियन्त्रण गर्न र लकडाउनको विकल्पका रुपमा स्वयंसेवक परिचालनलाई उच्च प्राथमिकताका रुपमा लिएकोले परिषद्ले युवा स्वयंसेवक तयारी गरेको बताउनुभयो ।

यो मोडल सफल भएमा सबै स्थानीय तहका युवालाई तालिम दिएर स्वयंसेवकको रुपमा परिचालन गर्ने योजना रहेको छ । पहिलो चरणमा यही असोज ९ गतेदेखि कातिक ७ अर्थात् फूलपातीको दिनसम्म स्वयंसेवक परिचालन हुनेछन् । ती स्वयंसेवकले राजधानीको भीडभाड हुने क्षेत्रमा काम गर्ने खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।