Saturday 25th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बागलुङको बाढी प्रभावित क्षेत्र नपुगी फर्किए गृहमन्त्री

Thursday, September 3, 2020 National Power

पोखरा- बागलुङ ढोरपाटनमा गएको बाढीको क्षति र स्थलगत निरीक्षणमा गएका गृहमन्त्री रामबहादुर थापाको टोली पहिरो प्रभावित क्षेत्र नजिकै पुगेर फर्किएको छ । मौसमका कारण घटनास्थलमा जान सक्ने अवस्था नभएको भन्दै नजिकै पुगेर हेलिकप्टरबाट पोखरा फर्किएका हुन् ।

बागलुङको ढोरपाटन नगरपालिको वडा नं। ७, ८ र ९ का क्षेत्रमा बाढीका कारण ८ जनाको शव भेटिएको छ भने १३ जना अझै बेपत्ता छन् । पहिरोको स्थलगत निरीक्षण र क्षतिको अवस्था बुझ्न गृहमन्त्री थापा नेपाली सेनाको हेलिकप्टरमार्फत बागलुङ उडेका थिए । ‘बाढीको अवस्था बुझ्न गएका थियौं । मौसमका कारण जान सक्ने अवस्था रहेनछ,’ गृहमन्त्रीसँगै गएका बागलुङका सांसद तथा नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले अनलाइनखबरसँग भने, ‘मौसमले साथ नदिएपछि घटनास्थल नजिकै पुगेर फर्किनुपर्‍यो ।’

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बागलुङबाट फर्किएर पोखरा विमानस्थलमा ओर्लिएको गृहमन्त्री सवार हेलिकप्टर काठमाडौं फर्किएको जानकारी दिए । बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले आफू घटनास्थलतर्फ गइरहेको र गृहमन्त्री थापासहितको टोली मौसमका कारण पहिरो स्थलमा पुग्ने अवस्था नभएपछि फर्किएको जानकारी पाएको बताए ।

‘अहिले घटनास्थलतर्फ जाँदैछौं । गृहमन्त्रीको हेली मौसमका कारण फर्किएछ,’ सीडीओ न्यौपानेले भने, ‘घटनास्थल सदरमुकामबाट झण्डै १ सय ४० किलोमिटर दूरीमा पर्छ । पानी परिरहेको छ, हुस्सु लागिरहेको छ । बाढी अझै कम भइसकेको छैन ।’ घटनास्थल उद्दार टोली बिहानैदेखि खटिइरहेको सीडीओ न्यौपानेले जानकारी दिए । घटनास्थलमा सञ्चार सेवा अवरुद्ध भएकाले समस्या भइरहेको उनले बताए ।

सुकुर्दुङस्थित भुजी खोलाको बाढीले १३ घर बगाएको हो । बाढीले जलविद्युत आयोजना, सडक, विद्यालय, पुलमा पनि क्षति पुर्‍याएको छ ।