Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

उपत्यकाको निषेधाज्ञा एक साता थपियो

Wednesday, August 26, 2020 National Power

काठमाडौं – काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।

यसअघि ३ भदौको मध्यरातिबाट लागू हुने गरी सुरु भएको निषेधाज्ञा बुधबार सकिँदै थियो । उपत्यकामा संक्रमण दर बढ्दो अवस्थामा रहेकाले १७ भदौसम्म निषेधाज्ञा थप्ने निर्णय गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले अनलाइनखबरसँग बताइन्।

सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि संक्रमण बढेको निष्कर्ष निकाल्दै १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो । मंगलबार जिल्ला कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी) र काठमाडौंका मेयरहरुबीच भएको छलफलले पनि निषेधाज्ञा बढाउन सुझाव दिएको थियो ।

निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ । अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ ।

नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउ-जाउ गर्न सक्नेछन् ।

होटल, रेष्टुरेन्ट, फुटपाथ पसलसमेत बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।