Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

गोंगबु घटना : भित्रि रहस्य खुल्यो

Tuesday, August 11, 2020 National Power

काठमाडौँ —

गोंगबुमा छोराछोरीसहित बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभरी पौडेलले फेसबुकमार्फत् रोल्पाका कृष्णबहादुर बोहरालाई भेटिन् । उनीहरु नजिकिदै गए । अन्तरङ्ग सम्बन्ध बस्न थाल्यो । चार वर्ष देखि चिनजान भएकाले दुवैबीच शुरुमा सम्बन्ध ठिक ठाकै थियो । तर, पछि सम्बन्ध बिग्रदै गयो । कल्पना कृष्णबहादुरसँग टाढिन खोजिन् । तर, कृष्णबहादुर तयार भएनन् । उनले कल्पनालाई धम्की दिएर ब्ल्याकमेल गर्न थाले । फेसबुकमा नक्कली आइडी बनाएर कल्पनाकै तस्बिर राखी चलाउन थाले । अन्तरङ्ग तस्बिरहरु राखेर डर देखाउन थाले । जसका कारण कल्पना वाध्य भएर छाड्न नसक्ने अवस्थामा पुगिन् । उनीमाथि कृष्णबहादुरले शारीरिक शोषण गर्न थाले । यसरी उनी निकै तनावमा परिन् ।

२४ साउनको राति कल्पनाले कृष्णबहादुरलाई कोठामा बोलाइन् । गंगबुस्थित गेष्ट हाउसबाट बा ७२ प ५६४४ नम्बरको स्कुटरमा गोंगबुस्थित घरको कोठामा पुगेका थिए । दुवैजना मीठो मसिना खाँदै बसे । भोड्का पिउँदै मासुको सितनमा कृष्णबहादुर मज्जा लिदै गए । रात छिप्पिदै गएपछि कल्पनाले दहीमा निन्द्रा लाग्ने पाँचवटा ट्याबलेट हालिदिइन् । बोहराले दही खाए । केही बेरमा लठ्ठिए । कल्पनाले हत्याको सबै तयारी गरेकी थिइन् । उनले घनले बोहराको संवेदनशील अङ्गमा पटक पटक प्रहार गरिन् । त्यस्तो प्रहार गर्नुमा शारीरिक शोषण गरेको आवेग पनि कारण थियो ।

घनले हान्दा थलिएका बोहरालाई सलले घाँटीमा बेरेर बेस्सरी कसेपछि प्राण लिइन् । उनको मृत्यु भएपछि शवको व्यवस्थापन गर्न लागिन् । सुटकेश निकालिन् । तर, शव अटेन । त्यसपछि उनले शवको टाउको र खुट्टा काटेर अर्को झोलामा हालिन् । शुरुमा सुटकेश नाम्लोले बोकेर लगिन् । शव आफू बस्ने घरभन्दा केही सय मिटर पर लगेर दुईवटा गाडीको बीचबाट फालिदिइन् । त्यसपछि टाउको र खुट्टा केही पर फालिन् । शव व्यवस्थापनमा उनलाई केशोरावस्थाकी छोरीले सहयोग गरेकी थिइन् । प्रहरीले कल्पनाकी १५ वर्षीया छोरीलाई पनि नियन्त्रणमा लिएको छ ।

घटनाको भोलिपल्ट हल्लाखल्ला भयो । आत्तिएकी कल्पना एम्बुलेन्सबाट परिवारसहित चितवनको कालिका नगरपालिका शक्तिखोरस्थित माइती गइन् । जहाँ उनी एक रात मात्र सुत्न पाइन् । भोलिपल्ट प्रहरीले पक्राउ गरी काठमाडौं ल्यायो । जहाँ उनको बयान लिइयो । कल्पनाले हत्या स्वीकार गरिन् ।

प्रहरीसँगको बयानमा नक्कली आइडी बनाएर फेसबुकमा नग्न तस्बिरहरु सार्वजनिक गरी ब्ल्याकमेल गर्न थालेपछि हत्या गरेको भनेकी छिन् । बोहराले नक्कली फेसबुक आइडी बनाएर कल्पनालाई दुःख दिन थालेपछि नै हत्या गरेको बयान दिएपनि अनुसन्धानको अन्य पाटो बाँकी नै रहेको छ । बोहराले आफ्नो इच्छाबमोजिम चल्न कल्पनालाई वाध्य पारेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । तस्बिर सार्वजनिक गर्दै दुःख दिन थालेको झोकमा हत्या गरेको भनेकी छिन् ।

दाङ घर भएका कृष्णबहादुर बोहराको २५ साउनको विहान शव फेला परेको थियो । उनको टाउको अलग गरिएको शव भेटिएपनि पहिचान हुने २५ घन्टा लाग्यो । शवको टाउको र खुट्टा पत्ता लगाउन प्रहरीले कुकुरको प्रयोग गरेको थियो । कुकुरले नै घटनास्थल पत्ता लगाएको थियो । घर र कोठामा कुकुर पुगेपछि शंकाको सुई कल्पनातर्फ घुमेको थियो । घरबेटीसँग सोधपुछि सम्पूर्ण जानकारी लिई प्रहरी अभियुक्तलाई भाग्न नदिने रणनीतिका साथ सक्रिय भएको थियो । जसमा सफल भयो ।

प्रहरीले घटनास्थलमा प्रयोग भएका सबैजसो सामाग्री बरामद गरेको छ । हत्यामा प्रयोग भएको स्लिपिङ ट्याबलेट, घन, कालो सल, शरीर टुक्रा पार्न प्रयोग भएका हतियार, पञ्जा, शव व्यवस्थापनमा प्रयोग भएको सुटकेशको ह्याण्डल, झोला, नाम्लो, डोरीको टुक्रा देखि मोबाइल सेटहरु समेत बरामद गरेको छ ।

घटनाको कारण आफूलाई फेसबुकमा नग्न तस्बिर राखेर हैरान गरेको भनी कल्पनाले बयान दिएपनि आर्थिक लेनदेनको विषय पनि आएको छ । प्रहरीले यसबारे गहिरो अनुसन्धान भइरहेको जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानबाट कल्पनाले हत्या स्वीकारेकी छिन् । उनले छोरीलाई पनि शव व्यवस्थापनमा दुरुपयोग गरेको खुलेको छ । तर, हत्याको कारणको अन्य पाटो बाँकी नै छ ।