Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २०० पुग्यो

Sunday, July 19, 2020 National Power

 

काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । यससँगै विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई सय पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना, युएईमा ५ जनाको मृत्यु भएको छ ।

समितिका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्णरुपमा कोरोना मुक्त भएका छन् । संघका अनुसार जम्मा कोराना संक्रमितमध्ये ९३ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये सबैजना कोरोना भाइरसबाट मुक्त भएका छन् ।

विदेशमा ३० हजार ५ सय ७१ जनामध्ये २८ हजार ६ सय ८१ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ । गैरआवासीय नेपाली संघ, नेपाल सरकार र कूटनीतिक निकायको पहलमा विभिन्न २५ मुलुकबाट २९ हजार ७ सय ८० जना नेपालीको उद्धार भएको छ ।

यस्तै मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो अवधिमा १ सय ७२ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ३४ जनामध्ये १ सय ५६ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै १ सय ७ वटा शव नेपाल ल्याउन बाँकी रहेको एनआरएनएले जनाएको छ ।