Tuesday 28th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

अदालतको आदेशपछि पनि रिहा हुन मानेनन् विप्लवका दाजुसहित २१ नेता

Tuesday, December 24, 2019 National Power

घोराही – दाङ-देउखुरी जिल्ला अदालतबाट धरौटीमा रिहा हुने आदेश पाएका विप्लव नेतृत्वका २१ नेता-कार्यकर्ताले रिहा हुन इन्कार गरेका छन् ।अदालतको रिहा हुने आदेशपछि पनि कारागार नै रोज्नेमा प्रतिबन्धित विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दका सहोदर दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ चन्दसमेत छन् ।

गत कात्तिक २९ मा दाङबाट पक्राउ परेका प्रतिबन्धित विप्लव नेतृत्वका २१ नेता-कार्यकर्तालाई जनही १५ हजार रुपैयाँ धरौटीमा छाड्न दाङ-देउखुरी जिल्ला अदालतका न्यायाधीश रीतेन्द्र थापाको इजलासले सोमबार आदेश दिएको थियो ।अदालतको यस्तो आदेशपछि रिहा हुनुपर्नेमा सबै २१ जनै विप्लवका नेता-कार्यकर्ताले कारागारमै बस्ने निर्णय गरेका हुन् ।अदालतको आदेशपछि पनि पुनः पक्राउ गर्ने उद्देश्यले अदालत परिसर बाहिर प्रहरी तैनाथ भएपछि रिहा नभएर कारागार नै रोजेको विप्लवका दाजु वीरजंगले बताए ।‘१५ हजार धरौटी बुझाएर पनि पुनः प्रहरीले पक्राउ गर्ने देखिएपछि रिहा नभएर कारागार जाने निर्णय गरेका हौं’, अदालत परिसरमा वीरजंगले सञ्चारकर्मीसँग भने ।सरकारले विप्लव समूहमा संलग्नको आरोपमा यसका नेता-कार्यकर्तालाई पक्राउ गर्दै मुद्दा चलाएको छ । सरकारको मुद्दा सामना गर्दै अदालतबाट रिहा हुने आदेश पाएकाहरूलाई पनि प्रहरीले पुनः अदालत बाहिरबाटै पक्राउ गर्ने गरेको छ । देशव्यापी रूपमा देखिएको यो प्रवृत्ति दाङमा पनि दोहोरिने भएपछि विप्लवका दाजुसहितका नेता-कार्यकर्ता दाङ-देउखुरी अदालतको आदेशपछि पनि रिहा नभएका हुन् ।

गत कात्तिक २९ गते विप्लव समूहको राप्ती व्युरो बैठक बसिरहेका बेला प्रहरीले नेपाल-भारत सीमामा पर्ने दाङको राजपुर गाउँपालिका-४, मगराइना गाउँबाट यसका मध्य-पश्चिम व्युरो इञ्चार्ज वीरजंगसहितका २१ नेता-कार्यकर्तालाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध संगठित अपराध गरेको आरोपमा मुद्दा चलाइएको थियो ।