Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

आलमलाई जन्मकैदको मागदाबीसहित आज मुद्दा दर्ता हुँदै

Monday, November 4, 2019 National Power

रौतहट – कांग्रेस नेता मोहम्मद अफताव आलमलाई जन्मकैदको मागदाबीसहित रौतहट जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता हुँदै छ । प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार दिउँसो आलमविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो । प्रहरीले आलमविरुद्ध आठ सय पेजको अनुसन्धान रिपोर्टसहित आफ्नो राय जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ । त्यसमा आलमलाई सर्वस्वसहित जन्मकैद वा आजीवन काराबासको सजायँ मागदाबी प्रहरीले गरेको छ ।

पहिलो संविधानसभा चुनावताका २७ चैतमा रौतहट क्षेत्रनम्बर २ बाट कांग्रेस उम्मेदवार आलमले मतदानस्थल नजिकै बम पड्काएर बुथ कब्जा गर्ने योजना बनाएका थिए । सोही योजनाअनुसार काका शेख इद्रिसको गोठमा बम बनाउँदाबनाउँदै विष्फोट भयो । सोही विष्फोटमा घाइते भएका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँलाई इँटाभट्टामा हालेर हत्या गरेको अभियोग आलममाथि लागेको छ । उनीहरूका परिवारले किटानी जाहेरी दिएपछि गत असोज २६ गते आलम पक्राउ परेका थिए ।

पीडित परिवारले आलमलाई तत्कालीन मुलुकी ऐनअनुसार सर्वस्वसहित जन्मकैदको माग गरेका थिए । तर, २०७४ सालमा आएको नयाँ मुलुकी अपराध संहितामा सर्वस्वसहित जन्मकैदको व्यवस्था छैन । त्यसैले प्रहरीले आलमलाई आजीवन काराबासको सजायँ मागदाबीसहित सरकारी वकिलको कार्यालयमा राय पेस गरेको छ । मुलुकी अपराध संहिता लागू हुनुभन्दा अगाडिको घटना भएकाले पुरानो मुलुकी ऐन २०२० अनुसार सर्वस्वसहित जन्मकैदको मागदावीको विकल्प पनि दिइएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्तासमेत रहेका डीएसपी नवीन कार्कीले जानकारी दिए ।

त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँको हत्या कसुरमा आलमलाई २५ वर्ष जेल, बम विष्फोटमा घाइते भएर बाँचेका सर्लाहीका सखी मोहम्मदको केसमा ज्यान मार्ने कसुरअन्तर्गत १० वर्ष जेल र विष्फोटक पदार्थ बनाएको कसुरमा पनि १० वर्ष जेल सजाय दिन प्रहरीले माग दाबी गरेको जिल्ला सरकारी वकिलको कार्यालय स्रोतले बतायो । प्रहरीको मागदाबीअनुसार अदालतले फैसला गरेमा आलमलाई ४५ वर्षसम्म जेल सजायँ हुनसक्छ ।