Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

जुम्लामा स्थानीयले वडाध्यक्ष कुटे, प्रहरी लखेटे

Friday, July 19, 2019 National Power

जुम्ला -जडीबुटी चोरी निकासीे आरोपमा जुम्लाका स्थानीयले पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि कुटपिट गरेका छन् । उनीहरूले घटना नियन्त्रणमा लिन आएका प्रहरीलाई समेत गाउँबाट लखेटेका छन् । बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुमगाउँका स्थानीयले बुधबार वडाध्यक्ष रावतमाथि कुटपिट गरेका हुन् । स्थानीयवासीले हातपात गर्दै कमिजसमेत च्यातिदिएको वडाध्यक्षले गुनासो गरेका छन् ।

स्थानीयवासीले वडाध्यक्ष रावतविरुद्ध नाराबाजी गर्दै पदबाट राजीनामा दिन मागसमेत गरेका छन् । सामुदायिक वनमा पाइने सेतोचिनी (खिरौँला) चोरी निकासीमा वडाध्यक्षको प्रत्यक्ष सहभागिता रहेको लुमगाउँका स्थानीयवासीको आरोप छ ।

जनप्रतिनिधि नै अवैध कारोवारमा संलग्न भएको आरोपमा गाउँ नै वडाध्यक्षको विरुद्धमा छ । स्थानीय कालीबहादुर रावलले वडाध्यक्ष रावत जडीबुटी चोरी निकासीमा संलग्न रहेको जिकिर गरे । आक्रोसित वडाध्यक्षमाथि हातपात भएको विषयमा बुझ्न गएका प्रहरीमाथि स्थानीयवासीले ढुङ्गामुढा गरेका छन् । डिल्लीचौर प्रहरी चौकीका इञ्चार्ज प्रेमबहादुर थापाले लुमगाउँका स्थानीयवासीले आफूहरुमाथि ढुङ्गामुढा गरेको बताए । सुरक्षाका लागि गएको प्रहरी टोलीमाथि ढुङ्गामुढाका साथै हातपातसमेतको प्रयास भएको इञ्चार्ज थापाले बताए ।

वडाध्यक्षमाथिको हातपात घटनाका विषयमा मौखिक रूपमा जानकारी भएको प्रहरी निरीक्षक नवीन वलीले बताए । उनले भने, ‘जाहेरी आएपछि सोहीअनुसार कानूनी प्रक्रियाअनुसार काम हुने उनको भनाइ छ । गाउँमा विवाद भएको समयमा नआउने प्रहरी वडाध्यक्षले बोलाउँदा गाउँ आएपछि लखेटेको स्थानीयको भनाइ छ ।

वडाध्यक्ष रावतले अवैध जडीबुटी चोरी निकासीमा आफ्नो संलग्नता नरहेको बताए । उनले स्थानीय सरकारको समन्वय र सहकार्यमा सामुदायिक वनको जडीबुटी चोरी निकासी रोक्न खोज्दा कालीबहादुर रावललगायतको टोलीले हातपात गरी कुटपिट गरेको गुनासो गरे । हातपात गरी दुव्यवहार गर्दा गाउँमा बस्ने वातावरण सहज नभएका कारण सुरक्षाका लागि जिल्ला सदरमुकाम खलङ्गा बजारमा बस्दै आएको उनले बताए ।

बागजाले सामुदायिक वनमा पाइने जडीबुटीको अवैध चोरी निकासी भएको सूचना स्थानीयवासीबाट आएकाले दुईपटक प्रहरी लिएर वनमा गएको उनको भनाइ छ । वडाध्यक्ष रावतले स्थानीयवासीले लगाएको आरोप न्यायिक निकायले दोषी ठहर्याए कानूनबमोजिम कारवाही भोग्न र वडाध्यक्षको पदबाट राजीनामा दिन तयार रहेको बताए । ज्यान असुरक्षामा रहेको बताउँदै वडाध्यक्ष रावतले गाउँ नै आफूमाथि खनिएकाले घर छोडेर विस्तापित हुनुपरेको बताए ।

जुम्लाका एक नगरपालिका सात गाउँपालिकामा २०० सामुदायिक वन छन् । सामुदायिक वन उपभोक्ता समितिले सुशासनभन्दा कुशासनलाई बढी प्रश्रय दिएका कारण बेला–बेलामा यस्ता प्रकारका घटना हुने गरेको सामुदायिक वन उपभोक्ता महासङ्घ जुम्लाका अध्यक्ष गोकर्ण चौलागाईंले बताए ।