Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

भानुजयन्तीमा राष्ट्रकवि घिमिरेलाई रथारोहण र अभिनन्दन

Sunday, July 14, 2019 National Power

काठमाडौं – २०६ औं भानुजयन्तीको अवसरमा आइतबार राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गरिएको छ । भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्रमार्फत् सम्मान पनि गरिएको हो ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रकवि घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्र प्रदान गरेर सम्मान गरेका हुन् । भानु प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाली साहित्य परिषद सिक्किम, असम नेपाली साहित्य सभा, नेपाली साहित्य परिषद, मणिपुर, नेपाल जनसांस्कृतिक मंच, कोलकोता, अखिल म्यान्मार देशीय हिन्दु धार्मिक संघ, म्यान्मारले भानुजयन्तीको अवसर पारेर राष्ट्रकवि घिमिरेलाई दोसल्लासहित अभिनन्दन पत्रद्वारा सम्मान गरेको हो ।

भानु जयन्तीकै अवसर पारेर राष्ट्रकवि घिमिरे र उनकी पत्नी महाकाली घिमिरेलाई रथारोहण पनि गराइएको थियो । त्यस अवसरमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेलले भानु जयन्तीको अवसर पारेर राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गर्न पाउनु गर्वको विषय भएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनु भएको राष्ट्रकवि घिमिरेको सुश्वास्थ्य र दीघार्यूको शुभकामना सन्देश पनि पढेर सुनाएका थिए ।

अभिनन्दनपछि राष्ट्रकवि घिमिरेले विश्वभरमा छरिएर रहेका नेपाली भाषीहरुले आफूलाई सम्मान गरेकोमा आभार व्यक्त गरे । उनले युग अनुसार नेपालीका बारेमा मात्रै सोच्ने कविको रुपमा भानुभक्त आचार्यलाई चित्रण गरे । राष्ट्रकवि घिमिरेले विश्वमा छरिएर रहेका सबै नेपालीहरुलाई भाषाको माध्यामबाट एउटै सुत्रमा बाँध्ने भानुभक्त आचार्य सबैका पूजनीय व्यक्तित्वको रुपमा सदा रहिरहनुपर्ने पनि उल्लेख गरे ।